महेन्द्रनगर । नेपाली सेनाले दिने राष्ट्रिय सेवा दलको एन।सि सि तालिम कञ्चनपुरको बेलौरीमा सुरु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित विज्डम एकेडेमीमा शुक्रबारदेखि उक्त तालिम प्रारम्भ भएको हो ।
तालिममा विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा सभापति विज्डम एकेडेमीका संस्थापक अध्यक्ष दिनेशबहादुर कुँवर, प्रमुख अतिथि श्री श्री दन दल गुल्मका गुल्मपति सेनानी राजिवजंग ठकुरी रहनुभएको थियो । विशिष्ट अतिथिमा महाकाली प्रादेशिक अस्पतालका डाक्टर प्रतीक लेखक, बेलौरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, अतिथिमा श्री दलगणका ओम कुमार श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा एनसीसीका शिक्षक सुभाष न्यौपाने र पुनशराम चौधरी लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल गोविन्द थापाले राख्नुभएको थियो । प्रिन्सिपल थापाले यो एनसीसी तालिम विगतका वर्षदेखि गर्न खोजिए तापनि अहिले आफ्नो विद्यालयमा हुन लागेकोले खुसी व्यक्त गर्दै आफूले यस तालिमका लागि गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेनानी ठकुरीले यस तालिमले युवा वर्गलाई अनुशासित, इमानदार र बफादारिताको भावना विकास गराउने बताउँदै ७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्य ज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात् फाइरिङ पनि सिक्दछन् । ७९ दिनको तालिमपछि २१ दिनको क्याम्प तालिम हुन्छ । क्याम्पका लागि बाँकेको कोहलपुरमा लगिने समेत सेनानी ठाकुरले बताउनुभयो । २१ दिन चल्ने क्याम्प तालिममा खोज, उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकाससम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमिङ, हाइकिङ र क्लाईम्बिङसम्म सिकाइन्छ । ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुने तालिमलाई ४० दिन र २१ दिनको क्याम्प तालिमलाई १६ दिनको राखिएको छ ।
कार्यक्रम कार्यक्रमको समापनमा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष दिनेशबहादुर कुँवरले पढाइसँगै विद्यार्थीहरूको शारीरिक परिवर्तनका लागि उक्त तालिम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष कुँवरले उक्त तालिमका लागि आफ्नो विद्यालयले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल दीपेन्द्र मडैले गर्नुभएको थियो