Saturday, July 27, 2024

भीमदत्तमा निःशुल्क आँखा शिविर, १५० जनाको मोतिबिन्दुको अप्रेशन गरिने (भिडियो)

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १६ मा आँखा शिविर सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका वडा नं. १२, १३, १४ र १६ का जनतालाई लक्षित गरेर शनिवार आँखा शिविर सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिवार सम्पन्न उक्त आँखा शिविरबाट साढे चार सय बढी जनता लाभान्वित भएका छन् । आँखा सम्बन्धि विभिन्न समस्याको निःशुल्क चेकजाँच तथा उपचारका लागि उक्त शिविर आयोजना गरिएको भीमदत्त नगरपालिका वडा नं. १६ का अध्यक्ष केशब सिंह बिष्टले बताए ।

निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरमा अधिकांशको मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने देखिएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत तथा शिविर संयोजक विर सिंह धामीले बताए ।

नेत्र अधिकृत धामीका अनुसार शिविरमा १६७ जनालाई चस्मा वितरण गरिएको छ । त्यस्तै ४७ जनाको मोतिबिन्दुको अप्रेशन गर्नु पर्ने पाइएको छ भने ८ जनाको आँखामा मासु बढेको पाइएको छ । बाँकी अन्यको औषधी उपचार गरिएको छ ।

‘गरिब तथा विपन्न परिवारका सदस्यहरुको आँखा चेकजाँच तथा उपचारका लागि भीमदत्त नगरपालिका र आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा यो शिविर सञ्चालन गरिएको हो ।’ वडाध्यक्ष बिष्टले भने, ‘खासगरि यो क्षेत्रका आँखा सम्बन्धि समस्या भएका सम्पुर्ण जनताहरुलाई घर दैलोमै निःशुल्क सेवा लिने मौका दिनका लागि हामीले यो शिविर सञ्चालन गरेका हौं ।’

शिविरबाट आँखा सम्बन्धिका विभिन्न समस्याहरुको निःशुल्क चेकजाँच, औषधी, उपचार, चस्मा वितरण जस्ता कार्यक्रमहरु सम्पन्न गरिएको छ । भीमदत्त नगरपालिकाका झण्डै १५० जनाको निःशुल्क उपचार गरिने स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताए ।

भीमदत्त नगरपालिकाका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर आँखा संग सम्बन्धित समस्याको चेकजाँच तथा अप्रेशन गर्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

‘हामीले भीमदत्त नगरपालिकाको तीन ओटा स्थानमा रोग पहिचान एव स्केनिङ क्याम्प राखेर काम थालेका छौं । जसबाट मोतिबिन्दु भएका झण्डै १५० जनाको आँखाको अप्रेशन निःशुल्क हुनेछ ।’ स्वास्थ्य शाखा प्रमुख जोशीले भने, ‘आँखा अस्पताल महेन्द्रनगर संग समन्वय गरेर हामीले यो स्वास्थ्य शिविर सञ्चालनमा ल्याएका हौं ।’

अति विपन्न तथा गरिब घरपरिवारका मान्छेको पहुँच महेन्द्रनगर तथा गेटा आँखा अस्पताल सम्म नपुग्ने बताउँदै, यस्ता शिविरहरु गाँउ गाँउमा आवश्यक रहेको भीमदत्त–१३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले बताए ।

गरिब विपन्न परिवारका मान्छेले जनप्रतिनिधिबाट गाँउ घरमै औषधीमुलो एवं उपचारको अपेक्षा राखेका हुन्छन्, उनिहरुलाई क्लिनिक तथा अस्पताल धाउन भौतिक संगै आर्थिक अवस्थाले पनि साथ नदिन सक्छ तसर्थ आफुहरुले नै गाउँघरमा यस्ता निःशुल्क शिविरहरु सञ्चालन गर्नु पर्ने वडाध्यक्ष बोहराको तर्क छ ।

‘गाँउ घरमा आँखा शिविर निकै आवश्यक एवं महत्वपुर्ण छ । यो शिविरबाट बढी भन्दा बढी जनताले सेवा पाउन भन्ने हाम्रो मुल मर्म हो, सोहि अनुसार हामीले खबर पनि गरेका छौं ।’ उक्त आँखा शिविरमा सेवाग्राहीको भीड बढेको कुरालाई लक्षित गर्दै भीमदत्त–१३ का वडाध्यक्ष बोहराले भने,‘सबैको पहुँच अस्पताल सम्म नपुग्ने हुनाले हामीले बेला बेलामा यस्ता निःशुल्क प्रकारकमा शिविरहरु गाँउ गाँउमा राख्नु पर्छ ।’

आँखा अस्पताल संग पहुँच पुर्याउन उक्त आँखा शिविर सञ्चालन गरिएको हो । महेन्द्रनगरमै रहेको आँखा अस्पताल सम्म पनि आँखाका बिरामीहरुको पहुँच पुग्न सकेको छैन् ।

भीमदत्तमा निःशुल्क आँखा शिविर सञ्चालन गर्नुको मुख्य उद्देश्य नै अस्पताल संग बिरामीहरुको पहुँच पुर्याउन लक्षित रहेको महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत एवं शिविर संयोजक बिर सिंह धामीले बताए ।

‘नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल तथा आँखा अस्पताल महेन्द्रनगर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा भीमदत्तका तीन स्थानमा निःशुल्क शिविर सञ्चालन हुँदैछन् ।’ धामीले भने,‘हामीले सञ्चालन गरेका शिविरमा अधिकांश मोतिबिन्दुका बिरामी भेटिए, त्यस्तै चस्मा लगाउनुपर्ने अर्थात नजिक र टाढाको दुरीमा नदेख्न बिरामीहरु पनि आएका छन् । उनिहरुको चेकजाँच संगै हामीले निःशुल्क चस्मा वितरण गरेका छौं ।’

मोतिबिन्दु भएका १५० जनाको निःशुल्क अप्रेशन गर्ने सम्झौता भएको बताए । केहि दिन अघि सुकासालमा आयोजना गरिएको शिविरका ५० मध्ये ४५ जना मोतिबिन्दु भएका बिरामीहरुको अप्रेशन सम्पन्न भएको उनले बताए ।
महेन्द्रनगरमै अत्याधुनिक मेसिनद्वारा मोतिबिन्दुको अप्रेशन गर्न थालेको उनले बताए ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार