विकास पर्खेको विटक बस्ती मलास

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा अवस्थित छ। उक्त बस्तीमा छ सय बढी मानिसहरुको बसोवास छ।

कञ्चनपुरको सीमाक्षेत्रमा पर्ने यो क्षेत्र डडेल्धुराको परशुराम नगरपालिकामा पर्छ। तर यस यहाँका बासिन्दालाई परशुराम नगरपालिकासम्म सहज पहुँच छैन। सडक सञ्चाल नहुँदा वडा कार्यालयसम्म पुग्न पनि निकै सास्ती हुने गरेको यहाँका स्थानीयवासी बताउँछन्।

चालिस वर्षअघि बझाङबाट बसाइँसरी यहाँ आएका गङ्गो धामीले सडक सञ्जालको दुःखसँगै खानेपानी नहुँदा निकै सास्ती खेप्नु परेको बताए। “विकासको नाममा कच्ची सडक छ खानेपानीको हाहाकार नै छ प्यास मेटाउनै मुस्किल पर्छ।” उनले भने,“देख्नमा त ठाउँ सुन्दर छ तर केगर्नु दुःख अनेक छन्।” गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र र माध्यमिक तहको विद्यालय बाहेकका अन्य सेवासुविधा यहाँका स्थानीयवासीले उपभोग गर्न पाएका छैनन्।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र सडकजस्ता पूर्वाधारको अभाव झेलेको वर्षौँ भइसकेको यहाँका स्थानीयवासी बुद्धि धामी बताउँछन्। “देशमा थुप्रै व्यवस्था परिवर्तन भए तर राज्यको नजरमा मलास कहिले परेन।” उनले भने,“कच्ची सडक पुगेको पनि दुई÷चार वर्ष मात्रै भएको छ त्यो पनि वर्षादमा बन्द हुन्छ।”

सङ्घीयता कार्यान्वयनपछि महेन्द्रनगर जोड्ने कच्ची सडक निर्माण भएपछि भने यहाँका स्थानीयवासीलाई राहत भएको छ। सडक नहुँदा मलासवासीले दुई÷तीन घण्टा पैदल हिँडेर अत्यावश्यक पर्ने नून, तेल, चामललगायतका सामग्री महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पुर्‍याउँनुपर्थ्यो। रासस

ताजा समाचार

सम्बन्धित समाचार