स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ।
यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ। एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको आशंकामा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ।
प्रधानमन्त्री फिकोको आधिकारिक फेसबुक पेजमा उनको अवस्थाबारे पोस्ट गरिएको टाइम्सले जनाएको छ। उक्त पोस्टका अनुसार फिकोलाई धेरै गोली लागेकाले उनको अवस्था गम्भीर छ। गोलीका कारण फिकोको शरीरमा कति र कस्तो खालको असर परेको छ भन्ने तत्काल यकिन भइसकेको छैन। मध्य स्लोभाक सहर ह्यान्ड्लोभामा भएको यो आक्रमणबारे प्रहरीले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
स्लोभाक र अन्य युरोपेली अधिकारीहरूले यो घटनाबाट स्तब्ध भएको भन्दै निन्दा गरेका छन्। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि हमला हुनु भयानक र नीच काम भएको बताएकी छन्। उनले यो घटनालाई लोकतन्त्रमाथिको आक्रमण पनि भनेकी छन्।
गोली हानेको आशंकामा पक्राउ परेका व्यक्तिबारे भने उनले कुनै जानकारी दिएकी छैनन्। सम्भव भएसम्म थप जानकारी प्रहरीले दिने उनले बताएकी छन्। यो समयमा हामी सबैले ध्यान केन्द्रित गर्नुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको रोबर्ट फिकोको अवस्था चाँडै सुधार होस् भन्ने हो, टाइम्सले राष्ट्रपति क्यापुटोभाका भनाइ उद्धृत गर्दै लेखेको छ। सन् २०१८ मा प्रधानमन्त्रीको पद छाडेका फिको गत सेप्टेम्बरमा भएको आम चुनावपछि सत्तामा फर्किएका थिए।