महेन्द्रनगर । जनप्रतिनिधिको रुपमा जिल्लाकै अभिवावकीय भूमिका भएका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराबाट एक जना थारु समुदायका युवा ठगिएको तथ्य खुलेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २६ वर्षिय संजिव डंगौरा(थारु) जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराबाट सोहि कार्यालयमा कार्यरत रहँदाको समयमा ठगिएको तथ्य खुलेको हो ।
डंगौरालाई आफ्नो स्वकीय सचिव पदमा नियुक्त गरेका समन्वय प्रमुख बोहराले उनीबाट पार्टीलाई मासिक रुपमा लेबि तिर्नुपर्ने भन्दै नौं हजार रुपैँया लिने गरेको तथ्य प्रमाण प्राप्त भएको छ ।
समन्वय समितिको कार्यालय कञ्चनपुरमा २०८० वैशाख ११ मा समन्वय प्रमुखको स्वकीय सचिवको रुपमा नियुक्ति पाएका डंगौराबाट बोहराले पार्टीलाई लेबि तिर्नुपर्ने भन्दै प्रत्येक महिना नौं हजारका दरले पैँसा असुलेको बैंक भौचर समेत प्राप्त भएका छन् ।
समन्वय प्रमुख बोहराले आफुले पार्टीलाई तिर्नुपर्ने लेबि आफ्ना तत्कालिन स्वकीय सचिव डंगौराको मासिक तलबबाट तिर्दै आएको भन्ने तथ्य पाइएको हो । समन्वय प्रमुख बोहराले मासिक सेवा सुविधाबाट २० प्रतिशत रुपैँया आफु निर्वाचित भएको पार्टीलाई तिनुपर्छ । समन्वय प्रमुखमा निर्वाचित व्यक्तिले मासिक रुपमा ४४ हजार बढी सेवा सुविधा पाउने गरेका छन् । त्यसको २० प्रतिशतले ठ्याक्कै नौं हजार रुपैँया हुन आउछ ।
समन्वय प्रमुख बोहराका तत्कालिन स्वकीय सचिव डंगौराका अनुसार उनले जागिर खाएको छ महिनापछि मात्रै कर्मचारीले कुनैपनि पार्टीलाई लेबि रकम तिर्नु पर्दैन रहेछ भन्ने कुरा जनाकारी पाएका हुन् । बैंक मार्फत दुर्गादत्त बोहराको नामबाट पार्टीलाई नौं हजारका दरले छ महिना सम्म ५४ हजार रुपैँया जम्मा गरेको डंगौराले बताए ।
‘समन्वय प्रमुख दुर्गादत्त बोहरा ज्यूले पार्टीलाई तिमीले प्रत्येक महिना लेबि तिर्नुपर्छ भने, मलाई त्यस सम्बन्धमा थाहाँ थिएन, सोधिखोजी पनि गरेन र प्रत्येक महिना नौं हजारका दरले पैसा दिन थाले ।’ पीडित डंगौराले भने, ‘छ महिना सम्मको पैसा बुझाईसकेपछि मैले एकदिन समन्वयकै लेखा लगायतका कर्मचारीहरुलाई सोधे–हामीले पार्टीलाई कति लेबि तिनुपर्छ ? तब कर्मचारीहरुले भने हामीले किन पार्टीलाई लेबि तिर्ने ? त्यसपछि तिर्नुपर्दैन रहेछ भन्ने जानकारी भयो ।’
आफुलाई उक्त बिषयमा जानकारी भएपछि समन्वय प्रमुख बोहराको नामबाट पार्टीको नाममा पैसा पठाउन छोडेको डंगौरा बताउछन् । उनले जिल्ला समन्वय समिति कञ्चनपुरमा नौं महिना प्रमुख बोहराको स्वकीय सचिव भएर काम गरेका हुन् । बाँकि तीन महिनाको पैसा डंगौराले तिर्न नमानेपछि समन्वय प्रमुख बोहराले उनलाई जिम्मेवारी मुक्त गरेका थिए ।
यद्यपी डंगौराले लगाएको आरोप निराधार भएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराले बताए । उनले भने, ‘मैले नै स्वकीय सचिवमा संजिव चौधरीलाई राखेको हुँ, तर आजभोली मिथ्या र निराधार आरोप लगाएर हिडिरहेको सुनेको छु ।’
संजिवका बुवा संग राम्रो परिचय भएका कारण आफुले गरिबको छोरालाई स्वकीय सचिवमा राखेको तर उहिबाट आज आएर मिथ्या कुरामा आफ्नो बदनाम गरिने लागेकोमा उनले आपत्ती प्रकट गरे ।
पार्टीलाई लेबि तिराउने भनेर आएको कुरा मिथ्या भएको र पैसा नतिरेपछि कामबाट निकालेको कुरामा कुनै तुक नभएको बताउदै समन्वय प्रमुख बोहराले भने, ‘स्वकीय सचिवकालागि कार्य कौशलतामा चित्त नबुझेपछि संजिवलाई जिम्मेवारी बिहिन पारिएको हो ।’ उनले प्रतिप्रश्न गर्दै भने, ‘स्वकीय सचिव राखेको व्यक्तिलाई मैले यो पैसा लगेर पार्टीको खातामा हाल्देउ भनेर त भन्न सक्छु होला नि ?’
आफुबाट महिनाको नौं हजारका दरले पैसा लिएर समन्वय प्रमुख बोहराले पार्टीलाई तिनुपर्ने लेबि हाल्दै आएको भन्ने आरोप लागेको छ । जसको प्रमाणका रुपमा बोहराका तत्कालिन स्वकीय सचिव डंगौराले बैंक भोचर समेत सुरक्षित राखेका छन् ।
तर बोहराले उक्त पैसा समेत आफ्नै भएको दाबि गर्दै आएका छन् । डगौंरालाई पार्टीको खातामा जम्मा गर्न मात्रै पठाएको उनको दाबि छ ।
सबैतिर न्यायको गुहार माग्दापनि कहिकतैबाट सहयोग नभएको भन्दै आइतबार मात्रै पीडित डंगौरा पत्रकारहरुमाँझ पुगेपछि उक्त घटना बाहिरिएको हो । जागिरबाट छुटाएपछि आफुलाई समन्वय प्रमुख बोहराबाट झनै तनाव भएको डंगौराले बताए ।
आफुबाट प्रत्येक महिना पार्टीलाई लेबि तिर्नुपर्ने निर्देश गर्दै पैसा तिर्न लगाएको र आफुलाई थाहाँ भएपछि समन्वय प्रमुख बोहराले जागिर खोसेकोमा डंगौराले दुखेसो व्यक्त गरे । उक्त सम्बन्धमा पछिल्लो समय आफुले न्यायको गुहार गरेपछि नेता तथा विभिन्न व्यक्तिहरुबाट मानसिक रुपमा समेत तनाव दिन थालिएको उनले बताए ।
‘जब मैले, मलाई अन्याय भयो भनेर न्यायको लागि गुहार गर्न लागे, तब मलाई पार्टीकै विभिन्न नेता तथा कार्यकर्ताहरु लगाएर त्यो कुरा कहि कतै नगर्न अर्थात चुलागेर बस्नका लागि दवाव दिन थालियो ।’ पीडित डंगौराले भने, ‘दुर्गादत्त बोहरा ज्यू ले यो बिषयमा मलाई चुप लगाउनका लागि बिहान–बेलुकै घरमै नेता कार्यकर्ता पठाउनु हुन्छ । मलाई निकै तनाव भएको छ ।’
आफुलाई लेबि भन्दै पार्टी खातामा हाल्न लगाएको पैसा पनि फिर्ता गर्ने वाचा गर्दै त्यो कुरा बाहिर नल्याइदिनका लागि समन्वय प्रमुख बोहराले आफ्नो घरमा साँझ–बिहानै मान्छे पठाउने गरेको समेत पीडित डंगौराले बताए ।
समन्वय समिति प्रमुख बोहराले आफुले डंगौरालाई कुनै किसिमको तनाव, दवाव एवं सम्पर्क संवाद नै नगरेको बताए । ‘मलाई बदनाम गराउनका लागि केहि व्यक्तिले संजिवलाई प्रयोग गरिरहेका छन् ।’ उनले भने, ‘यो योजनाबद्ध, सुनियोजित एवं कपोकल्पित आरोप मात्रै हो ।’
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराको स्वकीय सचिवबाट डंगौरालाई हटाइएपछि गत वर्षको माघबाट उनले आफ्नी बुहारीलाई उक्त पदमा नियुक्त गरेको उनि आफैले स्विकार गरेका छन् ।