Monday, May 13, 2024

उपभोक्ता सक्रिय भए पनि कञ्चनपुरमा वन डढेलो रोकिएन

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुुरमा वन डढेलो बढ्दै गएको छ । स्थानीय सामुदायिक वनका उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि सक्रियता बढाए पनि दिनप्रतिदिन डढेलोका घटना बढ्दै गई बहुमूल्य जडीबुटी, काठ–दाउरामा ठूलो नोक्सानी पुगेको छ ।

डढेलोका कारण वन्यजन्तु र पंक्षीको बासस्थानसमेत नासिँदै जान थालेका छन् ।शुक्लाफाँटा नगरपालिका– ८ स्थित बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले डढेलो नियन्त्रणका लागि समितिका सदस्यहरूले निकै प्रयास गरे पनि हावा चलेर समस्या हुने गरेको बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी पनि वन क्षेत्रमा दैनिक तीनदेखि सात ठाउँमा डढेलो लाग्ने गरेका बताए । उनका अनुसार वैशाखयता चार सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने गत वर्षको यसै अवधिमा छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो ।

यस वर्ष डढेलोबाट सबैभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा क्षति भएको छ । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेल चुरे क्षेत्र वरिपरिको वनसँगै लालझाडी मोहना संरक्षित वनको ‘कोर एरिया’ मा वन डढेलोले बढी क्षति पुर्याएको बताए ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले वन डढेलोका कारण वन सम्पदामा र वन्यजन्तुमा नोक्सानी पुग्नेमात्र नभई वायुप्रदूषण बढ्दै जाँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले सबैले सचेत हुनुपर्ने बताए ।

वन क्षेत्रमा लाग्ने डढेलोका कारण वन्यजन्तुहरूमा बस्तीमा प्रवेश गर्ने भएकाले पटकपटक मानव वन्यजन्तुबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेका छन् । त्यसलाई रोक्न स्थानीय सरोकारवाला नै सचेत र जागरूक बन्नुपर्ने स्थानीय महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार