शुक्लाफाँटामा बाघको नाम महाराजा, राजकुमार र युवराज

प्रकाशित:

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सबै बाघहरुको नामाकरण गरिएको छ।

आमाबाट छुट्टिएर आफ्नो बासस्थान बनाउन जंगल विचरण गरिरहेको करिब ४/५ वर्षको भाले बाघको नाम अब युवराज भएको छ। उस्तै उमेर र अवस्थाको अर्को भालेको नाम राजकुमार राखिएको छ। राजकुमार र युवराज मात्रै नभएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सबै बाघको नामकरण गरिएको हो।

उमेर, शारीरिक अवस्था, शरीरमा भएका फरक चिह्न र तिनको विचरणका आधारमा बाघको नाम राखिएको छ। निकुञ्ज कार्यालयले नियमित अनुगमन तथा गणनाका क्रममा बाघको पहिचान खुल्ने गरी नाम पनि राखेको हो। धेरै लामो दूरीसम्म विचरण गर्नेलाई घुमन्ते, अरूभन्दा बलियो देखिनेलाई महाराजा, साना धर्का भएकालाई लघुधर्केलगायतका नाम राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए।

समस्याग्रस्त वन्यजन्तुको नाम राख्ने चलन भने विगतदेखि नै हो। अहिले भने अनुगमनका क्रममा तिनले गर्ने विचरण, शरीरका चिह्न र शारीरिक अवस्थाका आधारमा नाम राखिएको छ। निकुञ्ज कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लन्डन, हिमाली नेचरलगायतका संस्थाको सहयोगमा गत वर्ष बाघ र गैंडाको अुनगमन तथा गणना गरेको हो।

गत वर्ष फागुन ५ देखि २२ गतेसम्म क्यामरा ट्यापिङ विधिबाट गरिएको गणनाअनुसार निकुञ्जमा बाघको संख्या २४ भाले, १७ पोथी र ३ विश्लेषणका आधारमा गरी ४४ पुगेको छ। सन् २०२२ मा गरिएको गणनाभन्दा यो संख्या ८ ले बढी हो। त्यतिबेला निकुञ्जमा बाघको संख्या झन्डै दोब्बरले वृद्धि भएर ३६ पुगेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार