Sunday, April 28, 2024

६ गतेदेखी ८ गते सम्म सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव सञ्चालन गरिने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सातौ शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना हुने भएको छ । आईतवार भीमदत्त नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्र ६ गतेदेखी ८ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी सातौ शुक्लाफाँटा पर्यटन महोत्सव मनाउने भएको हो ।

आर्थिक सम्वृद्धीको आधार पर्यटन विकास र पूर्वाधार भन्ने मुल नाराको साथमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमनमा वृद्धी हुने खालका विभिन्न कार्यक्रमको आयोजना गरी महोत्सवको आयोजना गरिने भएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्येस्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

साथै उहाँले यसलाई पर्वको रुपमा पर्यटन प्रवद्र्धन गर्नका लागी पर्यटकहरुलाई बढी भन्दा बढी शुक्लाफाँटमा घुमाउने उदेस्य रहेको बताउनु भयो । महोत्सवको पहिलो दिन चैत्र ६ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेको रानी ताललाई सरसफाई गरी कार्यक्रमको उदघाटन गरिने, दोस्रो दिन चैत्र ७ गते पश्चिमी सिमा नाका गड्डाचौकीमा सरसफाई कार्यक्रम गर्ने र भारतबाट भएर आउने पर्यटकहरुलाई स्वागत कार्यक्रम गरिने पर्यटन विकास समितिका उपाध्यक्ष केसीले जानकारी दिनु भयो ।

यस्तै चैत्र ८ गते बाह्रसिङगा मैत्रीपूर्ण फुटबलको आयोजना गरिने भएको छ र महोत्सव अवधी भरमा शुक्लाफाँटा घुम्न आउनुहुने सबै पर्यटकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था पनि रहेको पर्यटन विकास समितिका उपाध्यक्ष केसीले बताउनु भयो । ‘विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न जरुरी छ’, उनले भने, ‘यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी छ।’

यस्तै, कार्यक्रममा आफनो मन्तब्य राख्दै होटल व्यवसायी संघका अध्यक्ष एवम पर्यकन व्यवसायी जगदिश चन्द्र भट्टले अन्य पालिकाहरुले पनि यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गरिनु पर्ने बताउनु भयो । आन्तरिक तथा बाहय पर्यटकहरुलाई भित्राउनका लागी यो महोत्सवको समय कम भएको र महिनौ सम्म महोत्सवको आयोजना गर्ने व्यवस्था सरकारले गर्नुपर्ने बताउनु भयो ।

साथै विगतदेखी एउटै खालका कार्यक्रमहरु योजनाहरु ल्याउनु भन्दा फरक किसिमका कार्यक्रमहरु ल्याउन सकियो भने पर्यटकहरुलाई बढी भित्राउन मद्धत पुग्ने र भारतिय सञ्चारकर्मी हरुलाई पनि नेपालमा ल्याएर यताको विषयमा जानकारी प्रदान गरियो भने पनि भारत तर्फ पनि बढी प्रचार प्रसार हुने उहाँले बताउनु भयो । भीमदत्त नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रशाद भट्टले पत्रकार सम्मेलनले पनि प्रचार प्रसार हुने र सबैले आआफनो क्षेत्रबाट साथ र सहयोग गय्रो भने मात्रै यो महोत्सव सफल हुने बताउनु भयो ।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगेको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जम्मा दुई हजार ३४० बाह्रसिंगे छन् । अहिले निकुञ्जमा पाटे बाघ, हात्ती, गैडा, र घडियाल गोही पनि अवलोकन गर्न पाईन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार