मुख्य मन्त्री शाहले गरे खानेपानी आयोजनाको शिलान्यास

प्रकाशित:

धनगढी । लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीमा कर्णाली नदीको पानी आपूर्तिको लक्ष्यसहित खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज लम्कीचुहा–३, कैलाशधाम बल्चौरमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शुभारम्भ गरेका हुन्।

लम्कीचुहाका पाँच वडामा १३ हजार सात सय ९५ घरधुरीका ७४ हजार चार सय ५० जनालाई पानी आपूर्तिको लक्ष्यसहित आयोजना सुरु गर्न लागिएको हो । आयोजनाको निर्माण २०८२ साल भदौ नौ गतेसम्म गर्ने गरी सम्झौता भएको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउने बताए। कूल ९० करोडको परियोजना तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ।

जसमध्ये पहिलो चरणमा कर्णाली नदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर राखिने पाँच मिटर जमिनमुनि र पाँच मिटर जमिनभन्दा माथि गरी १० मिटरका पाँच वटा इनार निर्माण हुनेछ। त्यससँगै चार लाख ५० हजार लिटर क्षमता भएको भूमिगत ट्याङ्की पनि निर्माण गरिने निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका सञ्चालक दीर्घराज जोशीले बताए।

पहिलो चरणको आयोजना निर्माणका लागि कूल १४ करोड ७७ लाख ९५ हजार छ सय १३ रुपैयाँ २५ पैसा लागत लाग्नेछ। जसमा खानेपानी मन्त्रालयको ७० प्रतिशत अर्थात् १० करोड ३४ लाख ५६ हजार नौ सय २९ रुपैयाँ २८ पैसा, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका २५ प्रतिशत अर्थात् तीन करोड, ६९ लाख ४८ हजार, नौ सय तीन रुपैयाँ ३१ पैसा र लम्कीचुहा नगरपालिकाको पाँच प्रतिशत अर्थात ७३ लाख ८९ हजार सात सय ८० रुपैया ६६ लगानी रहने छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार