महेन्द्रनगर । सार्वजनिक पदमा बसेर आर्थिक अनियमितता गर्ने कर्मचारी एवं पदाधिकारीको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ् । संघ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गरी कैफियत गर्ने कर्मचारी र पदाधिकारी विरुद्ध धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता हुनेक्रम बढेको हो।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६ सय ३२ मुद्दा अख्तियारमा दर्ता भइसकेका छन्। कर्मचारी र पदाधिकारीले पदको दुरुपयोग गरेर अनुचित लाभ लिन खोजेको भन्दै उनीहरु विरुद्ध अख्तियारमा धमाधम उजुरी दर्ता भइरहेका छन्। गत वर्ष पनि यसैगरी उजुरी दर्ता भएका थिए। सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै अनियमितता हुने गरेपछि सम्वन्धित स्थानीय उनीहरु विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिन थालेका छन्।
चालु आर्थिक वर्षको साउन महिनामा मात्र एक सय ७३ उजुरी कर्मचारी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको नाममा अख्तियारमा दर्ता भएका थिए। भदौ महिनामा ८५, असोज महिनामा ८२, कात्तिक महिनामा ४१ र मंसिर महिनामा बढेर ९१ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्।
हरेक महिना कर्मचारी र पदाधिकारी विरुद्ध उजुरी पर्नेक्रम बढ्दो छ। पौष महिनामा ५१ र माघ महिनामा बढेर उजुरीको संख्या ७१ पुगेको छ। साथै फागुन महिना सुरु भएको १२ दिनको अवधिमा थप ३९ वटा उजुरी दर्ता भएका छन्। अख्तियारमा यसरी उजुरी दर्ता नभएको कुनै दिन बाँकी छैन्।