धनगढी । हुलाकी राजमार्ग, धनढीलाई २ अर्बको दायित्व पुगेको छ। कैलाली र कञ्चनपुरमा राजमार्ग र पुल निर्माणको २ अर्ब भुक्तानी दिन बाँकी रहेको हो। कैलालीमा ६९ किलोमिटर र कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता मार्फत काम हुँदैछ। कञ्चनपुरमा २०६६÷०७७ देखि सडक निर्माणको काम पूरा भएको छैन।
कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग र पुल निर्माणका लागि १७ वटा ठेक्का सम्झौता गरिएको छ। १७ वटा ठेक्का मार्फत काम गरेका निर्माण कम्पनीहरूले २ अर्ब भुक्तानी पाएका छैनन। हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ थप बजेट माग गरेको छ। सङ्घीय सरकारले विनियोजन गरेको ३९ करोड खर्च भएपछि योजना कार्यालयले थप ४५ करोड बजेट माग गरेको हो। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख पारस हमालले चालु आर्थिक वर्षमा आएको बजेट खर्च भएको बताए। उनले बजेट अभावका कारण काम ठप्प हुने अवस्था आएको बताएका छन्। उनले भने, ‘यो वर्ष ३९ करोड बजेट हो। लगभग सकियो। ४५ करोड माग गरेका छौ। तर, आएको छैन। बजेट आएन भने काम ठप्प हुन्छ।’
हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीलाई चालु आर्थिक वर्षमा सङ्घीय सरकारले ६५ करोड बजेट विनियोजन गरेको थियो। तर, सङ्घीय अर्थ मन्त्रालयले नौ करोडको फुकुवा दिएन। चालु आर्थिक वर्षमा ३९ करोड बजेट भुक्तानी भएकोमा खर्च भएको हो। हुलाकीराजमार्ग निर्माणको समय अवधि समेत सकिएको छ। २०८० सालको पुस महिनामा कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको समय रहेको हो। तर, पुलहरू निर्माणको समय भने २ वर्ष अझै बाँकी रहेको छ। राजमार्ग निर्माणको समय सकिदा पनि भौतिक प्रगति ५६ प्रतिशत मात्र पुगेको हमालले बताए।
धनगढीदेखि सत्तीसम्म ६९ किलोमिटरमा आधा स्तरवृद्धिको काम पूरा भएको छ। लम्की–टीकापुर २९ किलोमिटरमा ८ किलोमिटर कालोपत्र सकिएको छ। कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का गरिएकोमा ३६ किलोमिटरमा काम पूरा भएको छ। कञ्चनपुरमा काम नभएको क्षेत्रका निर्माण कम्पनीको समय थप गर्ने मनसायमा योजना कार्यालय रहेको छ। काम चालु रहेका निर्माण कम्पनीहरूको समय थप गरिनेछ।
कैलालीमा रहेको कान्द्र पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। कान्द्रामा नदी नियन्त्रणको समेत योजना रहेको छ। कञ्चनपुरमा एक पुलसहित दुई वटा कलभर्ट निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ। हुलाकी राजमार्ग, धनगढीले १७ वटा ठेक्का मार्फत सडक, पुल, कलभर्ट र नदी नियन्त्रणको काम हुँदैछ। तर, बजेट अभावका कारण काम ठप्प हुने हमालले बताएका छन्।