सुदूरपश्चिममा १३१ योजना अलपत्र

प्रकाशित:

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा स्वार्थ समूहका कारण पुराना योजना अलपत्र हुँदै जाँदा नयाँ योजनाका लागि भने धमाधम ठेक्का आह्वान हुँदै आएको छ । आर्थिक भारलाई ख्याल नै नगरी धमाधम सडक लगायत भौतिक पूर्वाधारका नयाँ योजनालाई बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले पुराना बहुवर्षीय योजनाहरू प्रभावित भइरहेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी लगाइएको ठेक्का पाँच वर्ष पुग्दासमेत आधा पनि पूरा भएका छैनन् । आर्थिक वर्ष २०७६र०७७ मा कैलालीको गोदावरी नगरपालिका–३, कृष्ण मन्दिरदेखि गोदावरी नगरपालिका–१२, बान्द्रेखालसम्मको सडक तीन वर्षमा सम्पन्न हुने गरी स्तरोन्नति गर्न ठेक्का लगाइएको थियो । तर हालसम्म सो सडकको भौतिक प्रगति ३० प्रतिशतमात्रै छ ।

नौ करोड ३९ लाख रुपैयाँमा ठेक्का लगाइए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा सो सडकको काम सुस्त गतिमा भइरहेको छ । हालसम्म सो सडकमा १० लाख ८३ हजार रुपैयाँ खर्च भएको छ भने चालु आर्थिक वर्षमा एक करोड रुपैयाँमात्रै विनियोजन गरिएको छ ।

डडेल्धुराको कटाल पर्शुरामधाम धार्मिक पर्यटकीय सडकको कटाल–बहादुरे खण्ड कालोपत्रे गर्न २०७५र०७६ मा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।

हालसम्म सो ठेक्काको प्रगति ४२ प्रतिशतमात्रै छ । २३ करोड ५७ लाख रुपैयाँ लागत अनुमान रहेको सो सडक निर्माणका लागि १४ करोड ८८ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । तर हालसम्म ६ करोड ११ लाखमात्रै भुक्तानी भएको छ । गत वर्ष सो सडकमा दुई करोड ५० लाख विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्षमा ५० लाखमात्रै विनियोजन गरिएको छ ।

डोटीको बुडर–जोरायल–गडसेरा–दिपायल सडक निर्माणका लागि आर्थिक वर्ष २०७६र०७७ मा ३२ करोड ७१ लाख रुपैयाँमा तीन वर्षमा सम्पन्न हुने गरी ठेक्का लगाइएको थियो । ५६ करोड ३१ लाख रुपैयाँ लागत अनुमान रहेको सडक निर्माणको काम हालसम्म १२ प्रतिशतमात्रै भएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार