मञ्चमै भक्कानीदै रोए कञ्चनपुरका वरीष्ठ समाजसेवि बुद्धिजीवी लिलाध्वज बस्नेत,भन्छन् विदेश जाने युवाहरु रोकेर देशमै बस्ने बातावरण बनाउनु पर्छ

प्रकाशित:

हेन्द्रनगर । आइतबार इन्टरनेशनल पब्लिक स्कुलको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका सञ्चालक कृष्णराज जोशीले आमन्त्रण गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज वस्नेत समापनका लागि मञ्चमा पुगे ।

सुरुमा उनले कार्यक्रमका अतिथि सहित सहभागी सबैलाई सम्बोधन गरे । त्यसपछि कार्यक्रमका प्रमुख अतिथि विनोद विष्ट र सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आफ्नो मन्तव्यका क्रममा राखेका भनाईलाई समर्थन गर्दै उनले छोरा छोरीलाई ठूलो मान्छे होइन, असल मान्छे बनाउन अभिभावकलाई सुझाव दिए ।

त्यसपछि उनले देशले विकास र प्रगतिको बाटो समात्न नसकेकोमा दुःख व्यक्त गर्दै भ्रष्ट नेता त्यसका लागि जिम्मेवारी भएको वस्नेतले उल्लेख गरे । उनले भीख माग्ने मानसिकताले देश गरीब भएको भनाई राखे व्यवस्थापन समिति अध्यक्ष वस्नेतले मन्तव्यका क्रममा विद्यार्थी विदेशिएको विषयमा धारणा राखे । त्यस बेला उनले आफ्नी एक्ली छोरी पनि अमेरिका भएको उल्लेख गरे । आफूले छोरीलाई अन्तिमसम्म प्रयास गरेर पनि अमेरिका जानबाट रोक्न नसकेको बताए ।

‘मेरी छोरी अमेरिका छ, मैले नजान भनेर धेरै रोक्न प्रयास गरे, तर सकेन, अहिले छोरी उतै छ, हामी यता छौ’ उनले भने,‘तपाईहरुको समस्या यहीं हो, छोरा छोरी बाहिर छन्, हामी बुढाबढी घरमा छौ ।’अमेरिका भएकी छोरीलाई सञ्चो बिसन्चोमा पनि साथ दिन नसक्ने अवस्था भएको उल्लेख गर्दै उनले भने,‘त्यसको ममीले मलाई तपाई छोरीको मतलब गर्न हुन्न भन्छिन्, मैले त उनलाई पनि गरेको छैन भन्छु ।’

मन्तव्यका क्रममा यति भनेपछि वस्नेत केही रोकेर । उनको अनुहार एकाएक निराश र बोली सुस्त भो । वस्नेतले भने,‘त्यहाँ अमेरिकामा लडेछ, चोट लागेछ, मैले केही गर्न सकेन ।’त्यसपछि वस्नेतको आँखाबाट एकाएक आँशु खसे । उनले आफूलाई सम्हाल्दै केही समय मौन बसे । फेरि बोल्न सुरु गरे । आफूलाई कुरा गर्दा रुन मन लागेको भन्दै उनका आँखाबाट फेरि आँशु झरे ।

मञ्चमा वस्नेतले आँशु खसालेपछि कार्यक्रम एकाएक सुनसान बन्यो । विहानदेखि वार्षिकोत्सव समारोहमा साँस्कृतिक प्रस्तुति, मन्तव्य र सम्मान लगायतले कार्यक्रम उल्लासमय थियो ।वस्नेतले कार्यक्रममा सहभागी अभिभावकहरुलाई छोरा छोरीलाई विदेश पठाउन भन्दा देशमा केही गरौ भनेर सम्झाउनु पर्ने बेला आएको उल्लेख गर्दै देश निर्माणमा विद्यार्थीहरुले भूमिका खेल्नु पर्ने बताए ।

उनले एकै महिनामा ६५ हजार युवा विदेश गएको तथ्याङ्क बाहिर आएको भन्दै उनले यसलाई रोकेर युवालाई देशमा बस्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।वस्नेत अघि मन्तव्य राखेका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रशासन कार्यालयमा दैनिक एक सय भन्दा बढी युवा युवती राहदानी बनाउन आउने गरेको उल्लेख गर्दै उनीहरुलाई सोध्दा नेपालमा केही छैन भन्ने जवाफ पाउने गरेको सुनाए ।

‘प्रशासन कार्यालयमा दैनिक एक सय बढी युवा पास पोर्ट बनाउन आउँछन्, किन विदेश जान लागेको हो भनेर सोध्दा नेपालमा केही छैन भन्छन्, नेपालमा केही छैन भन्ने भाष्य बनाउन खोजिएको छ’ उनले भने,‘अब तपाई विद्यार्थीहरुले यस भाष्यलाई पनि चिरेर हाम्रो देशमा पनि केही गरौ भन्ने सोच्नु पर्छ ।’

भीमदत्त नगरपालिका ३ भाँसीका वस्नेत वरिष्ठ समाजसेवीका रुपमा परिचित छन् । राजनीतिक पृष्ठभूमिका वस्नेत केही वर्षदेखि राजनीतिमा सक्रिय देखिएका छैनन् ।कञ्चनपुर ३ बाट २०५६ को आम निर्वाचन लडेका उनी राजनीतिमा पनि उनी निस्वार्थ भएर लाग्ने नेताका रुपमा चिनिन्छन् । सधै हसमुख मुद्रामा देखिने वस्नेत आइतबार बस्नेतले सार्वजनिक कार्यक्रममा आँशु झारेका हुन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार