Saturday, July 27, 2024

कञ्चनपुरको सामुदायिक वनमा तीन वर्षपछि वनपैदावार सङ्कलन

प्रकाशित:

महेन्द्रनगर । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएका कञ्चनपुरका सामुदायिक वनमा ढलापडा रुख सङ्कलन गरिने भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएका जिल्लाका १२ सामुदायिक वनले तीन वर्षदेखि वनपैदावार सङ्कलन गर्न पाएका थिएनन्।

सामुदायिक वनबाट काठ, दाउरा सङ्कलन तथा व्यवस्थापन गर्न पाउने गरी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिगत निर्णय गरेको छ।

नीतिगत निर्णय कार्यान्वयनका लागि निर्णय भएको मन्त्रालयको पत्रको प्रतिलिपि सामुदायिक वनहरु पठाइसकिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त डिभिजन प्रमुख कालिराम चौधरीले बताए।

उनका अनुसार नीतिगत निर्णय अनुसार मापदण्ड पूरा भएका वैज्ञानिक वन व्यवस्थापन वन कार्यक्रम लागू भएका सामुदायिक वनमा काठ दाउरा सङ्कलनका लागि छपान गर्न सिफारिस गरिएको छ।

सामुदायिक वनका उपभोक्ताले वन संरक्षण गर्ने वन पैदावार उपभोग गर्न नपाउने लामो समयदेखिको अवस्थालाई मध्यनजर गरी अन्य सामुदायिक वन जस्तै ढलापडा, सुखा रुखहरु सङ्कलन, व्यवस्थापनसँगै झाडी सरसफाइ गर्न पाउने गरी निर्णय गरिएको सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले बताए।

मन्त्री धामीका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएका कैलाली कञ्चनपुरका सामुदायिक वनले प्रचलित ऐन बमोजिम अधिकार प्राप्त अधिकारीबाट स्वीकृत भएको कार्ययोजना अनुसार ढलापडा रुख सङ्कलन गर्न पाउने, विपद्जन्य घटना हावाहुरी वा अन्य कारणले ढलेका रुख भएमा जिल्ला व्यवस्थापन समितिबाट सिफारिस लिई सङकलन गर्न पाइने छ।

यसरी सङ्कलन भएको वन पैदावार वार्षिक सङ्कलन परिणामभन्दा बढी भएमा आगामी आर्थिक वर्षको वार्षिक कटानमा मिलान गरी डिभिजन वन कार्यालयाट सहमति लिने मन्त्रालयको नीति गत निर्णय भएको छ।यो कार्यसँगै सामुदायिक वनले विगतमा बनाइएका अग्निपथ सफाइ गरी आगलागी हुन नपाउने व्यवस्था गर्नुपर्ने छ।

विभिन्न वन संवद्र्धन अन्तर्गत पर्ने वन संरक्षण, वन विकास, वृक्षरोपण, पुनः उत्पादन अभिवृद्धि, झाडी सफाइ जस्ता कार्ययोजनामा उल्लेख भएका कार्य सामुदायिक वनले गर्नुपर्ने छ।

वन पैदावार बिक्री वितरण, दण्ड जरिवाना जस्ता व्यवस्था, स्वीकृत कार्ययोजना, प्रचलित ऐन, नियमावली र निर्देशिका बमोजिम गर्न गराउनका लागि सामुदायिक वनलाई लिखित रुपमा जानकारी गराई सकिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त डिभिजन प्रमुख चौधरीको भनाइ रहेको छ। –रासस

ताजा समाचार

सम्बन्धित समाचार