महेन्द्रनगर । कञ्चनपुरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । महेन्द्रनगरको खुला मञ्चमा माघ दोस्रो सातादेखि तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा हुने भएको जनाइएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले यसअघि दुईपटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए ।

उक्त भलिबल प्रतियोगितामा सातै प्रदेशसहित तीन विभागीय गरेर १० टिमको सहभागिता हुनेछ ।
प्रतियोगिता विजेता टिमलाई नगद चार लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ ।
चौथो हुने टिमलाई सान्त्वनास्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।