महेन्द्रनगर । दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको सशक्तिकरण परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । एफसिए संगको साझेदारीमा निड्स नेपालद्वारा बेदकोट नगरपालिकामा सञ्चालित दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको सशक्तिकरण परियोजनाको बिहिबार सामाजिक लेखा परिक्षण गरिएको छ ।
निड्स नेपालले बेदकोट नगरपालिकामा १६ मे २०२३ देखि डिसेम्बर २०२४ सम्मका लागि दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको सशक्तिकरण परियोजना सञ्चालनमा ल्याएको छ । परियोजना सञ्चालन भएको ६/७ महिनामै निड्स नेपालले सामाजिक लेखा परिक्षण गरेको हो ।
बेदकोट–४ र ५ मा उक्त परियोजना सञ्चालनमा छ । आर्थिक रुपमा विपन्न, पहुँच विहिन महिलाहरुको ३०/३० जनाको समुह निर्माण गरेर निड्सले परियोजना सञ्चालनमा ल्याएको छ । उक्त परियोजनाबाट बेदकोट नगरपालिकाका १२० घरधुरी लाभान्वित भएका छन् ।
बिहिवार निड्स नेपालले परियोजनाको उद्देश्य, अध्ययन विधि, कार्यगत विषयक्षेत्र, लक्षित वर्गमा परेको प्रभाव, सुधार गर्नुपर्ने पक्ष लागायतका बुदाहरुमा लाभान्वित समुह, स्थानीय तहका जनप्रतिनिधि र स्थानीयहरुका सुझाव सल्लाह सहित सामाजिक लेखा परिक्षण कार्यक्रम गरेको छ ।
बेदकोटका नगर प्रमुख भोजराज बोहराले एकिकृत व्यवसायमा जोड्दिन संस्थालाई आग्रह गरेका छन् । त्यस्तै नगर उप प्रमुख तुलसी जोशीले पनि महिलाहरुलाई स्वरोजगार बनाउन स्थानिय सरकार गैरसरकारी संघ संस्थाहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएकी छिन् ।
समय सहाउदो व्यवसायीक ज्ञान सीप आफुहरुलाई आवश्यक भएको सहभागी महिलाहरुले बताए । आधुनिक प्रविधि र बजार माग अनुसारका व्यवसाय र व्यवसायीकतालाई स्थानीय सरकार र गैससहरुले प्राथमिकतामा राखेर काम गर्नु पर्ने उनीहरुको सुझाव छ ।
बेदकोटमा सम्पन्न सामाजिक लेखा परिक्षण कार्यक्रममा नगर प्रमुख बोहरा प्रमुख अतिथी, उप प्रमुख जोशी वरिष्ठ अतिथी रहेका थिए । त्यस्तै अतिथीहरुमा बेदकोट ४ र ५ का वडाध्यक्षहरु, महिला सशक्तिकरण समुहका महिला एवं प्रतिनिधि, स्थानीय बुद्धिजिबी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा निड्स नेपालका तर्फबाट सह कार्यकारी निर्देशक प्रकाश मडै, मिल अधिकृत सिर्जना जोशी लगायत सहजकर्ताहरुको उपस्थिती रहेको थियो ।