Saturday, July 27, 2024

महाकाली करिडोर अन्तर्गत कञ्चनपुर–डडेल्धुरा खण्डमा खोलियो ट्र्याक

प्रकाशित:

महेन्द्रनगर । महाकाली करिडोरअन्तर्गत कञ्चनपुर–डडेल्धुरा खण्डमा सडकको ‘ट्र्याक’ खोलिएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्र्याक खोलिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ट्र्याक खुलेसँगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए।

‘जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँछौँ।’

उनका अनुसार हाल ५ मिटर चौडाइ रहेको सडकको चौडाइ १० मिटरसम्म बनाइनेछ। ट्र्याक खोल्ने क्रममा कटान गरिएका रूख संकलन गरिरहेको उनले बताए।

विसं २०७८ मा दिवा सनिदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुरखण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको ४ किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो।

कटान आदेश नआउँदा सडक निर्माणको काम अघि बढ्न सकेको थिएन। विसं २०७९ फागुनमा कटान आदेश आएसँगै सडक निर्माणको कामले गति लिएको थियो।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा १ हजार ५३२ रूख र ४१९ पोल साइजका साना रूख पर्छन्। तीमध्ये रूख र पोल साइजका गरी १ हजार ९५१ रूख कटानको आदेश आएको एक वर्षको अवधिमा ट्र्याक खोलिएको हो।

कञ्चनपुर–डडेल्धुरा सडकखण्डको १५ किलोमिटर ट्र्याक खुलेसँगै डडेल्धुराको जोगबुढासम्म सवारीसाधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुशी भएका छन्।

‘बाटो नहुँदा जोगबुढा तथा महेन्द्रनगरतर्फ आउजाउ गर्न समस्या थियो। ट्र्याक खोलेसँगै सहज हुनेछ,’ भीमदत्त नगरपालिका–९ मसेट्टीका स्थानीय कर्ण विकले भने, ‘छिट्टै गन्तव्यमा पुगिन्छ। अब चाँडै कालोपत्र भए हुन्थ्यो।’

ताजा समाचार

सम्बन्धित समाचार