Saturday, July 27, 2024

गाउँमै सिकलसेल परीक्षण

प्रकाशित:

टीकापुर । टीकापुर नगरपालिका–५, मौरनियाका भिखुराम चौधरीका दुईवर्षे छोरालाई लगातार ज्वरो आएपछि अस्पतालमा जँचाए। औषधी उपचार गर्दापनि निको नभएपछि सिकलसेल भएको थाहा भयो। उक्त रोग पत्ता लागेपछि बालकको नियमित उपचार भइरहेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भिखुरामले छोरामा लागेको रोग पत्ता लगाउनै धेरै समय खर्चिए पनि अहिले भने सिकलसेलको पहिचान गाउँघरमै हुने गरेको छ। भजनी नगरपालिका–१ गौनियाँका ५२ वर्षीय खोजराम चौधरीले आफ्नै वडामा आयोजना गरिएको सिकलसेल स्क्रिनिङ क्याम्पमा जँचाउँदा सिकलसेलको शङ्कास्पद लक्षण देखायो। सेती प्रादेशिक अस्पताल धनगढीमा पुनः परीक्षण गर्दा सिकलसेल पुष्टि भएको थियो।

कमजोर हुँदै गएको महसुस गरेपनि विज्ञ चिकित्सकसहितको उपचार नपाएका खोजरामको गाउँमै लागेको शिविरबाट रोगको पहिचान भएको हो। पश्चिम नेपालका थारू समुदायमा देखिने यो सिकलसेल वंशाणुगत रोग भएको चिकित्सकको भनाइ छ। सिकलसेल भएमा रक्तकोष हँसिया जस्तै बाङ्गिने र फुट्ने गर्छन्। रक्तअल्पता हुने, खाना नपच्ने र मानिस कमजोर हुँदै जाने यसका लक्षण हुन्।

यस रोगको नियन्त्रणका लागि नियमित औषधी उपचारका साथै पोषण र बेला बेलामा रगत दिनुपर्ने हुन्छ। चिकित्सकका अनुसार समयमै उपचार गरेमा स्वास्थ्य अवस्था खराब हुनबाट जोगिन सकिन्छ। कृषि, मजदुरी र रोजगारीका लागि देश÷परदेश धाउने तर आफ्नो अवस्था खराब हुँदासम्म पनि चासो नदेखाउनेका लागि सरकारले गाउँमै पुगेर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश डगौरा थारूले बताए।

यसै साता जानकी गाउँपालिका–७ मा सञ्चालन गरिएको शिविरमा ५४६ जनाको रगत परीक्षण गर्दा २२१ जनामा र जानकी–९ मा २१२ जनाको परीक्षण गर्दा ३० जनामा सिकलसेल ट्रेट ९सिकलसेलका वाहक सेल० देखा परेको पालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष स्थानीय पालिकासँगको समन्वयमा पाँच वटा पालिकामा सिकलसेलको स्क्रिनिङ गरेको छ। गत वर्ष १० वटा पालिकाका १८ हजार २९३ जनाको सिकलसेल एनिमिया स्क्रिनिङ गर्दा ८३ जना पोजेटिभ र दुई हजार ४४८ जना टे«ट ९सिकलसेल एनिमियाको वाहक० भेटिएका थिए।

जनस्वास्थ्य अधिकृत मीनबहादुर धामीका अनुसार सिकलसेलको ट्रेट देखिएका बिरामीलाई सेती प्रादेशिक अस्पतालमा पुनः परीक्षण गरी निःशुल्क उपचार हुने गरेको छ। सरकारले सिकलसेलको उपचार निःशुल्क गरे पनि सबै अस्पतालमा सो सेवा नहुँदा समस्या देखिएको छ। कैलाली जिल्लामा मात्रै एक हजार तीन सय सिकलसेलका बिरामी रहेका छन्। उपचार भने दुई वटा अस्पतालमा मात्रै हुने गरेको छ। सिकलसेलको सेती प्रादेशिक अस्पताल धनगढी र निजी क्षेत्रको घोडाघोडी अस्पताल सुखडमा मात्रै उपचार हुने गरेको छ।

प्रादेशिक अस्पतालमा सिकलसेलका नौ सय जनाभन्दा बढी बिरामी उपचाररत रहेका छन्। अस्पतालमा सेवाग्राहीको चाप बढी नै रहेको सामाजिक सेवा एकाइ प्रमुख गौरी जोशीले बताए। सिकलसेलका बिरामीको उपचार गर्न सक्ने क्षमता भएको टीकापुर अस्पतालबाट पनि सो सेवा नियमित गर्दा चाप घट्ने भनाइ उनको छ। यस्तै सिकलसेलको निःशुल्क उपचार हुने घोडाघोडी अस्पतालमा ३९६ जना दर्ता रहेकोमा केहीको मृत्यु र केही अन्यत्र गएकाले हाल ३५० जनाले नियमित उपचार लिइरहेको अस्पतालका कर्मचारी सोमेन्द्र चौधरीले बताए।

टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रेमकुमार राईले टीकापुर क्षेत्रमा सिकलसेलका बिरामीले परीक्षण गराउनु पर्दा शुल्क तिर्नुपर्ने र औषधी चलाउँदा केही जटिलता आएमा सहज नहुने अवस्था रहेको बताए। उनले सो कार्यका लागि बजेट छुट्टिएर आएमा निःशुल्क उपचार सेवाका साथै अफ्ठ्यारोमा पनि सहज ढङ्गले सेवा दिन सकिने जानकारी दिए। माथिल्लो सरकारले बजेट दिएमा टीकापुर अस्पतालमा पनि सिकलसेलका बिरामीको उपचार गराउन सकिने भनाइ उनको छ। गोरखापत्र

ताजा समाचार

सम्बन्धित समाचार