गुलरिया । कञ्चनपुरको उत्तरी क्षेत्र बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
कृष्णपुर नगरपालिका– १ बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई टेक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
वाणी प्रहरी चौकी र अस्थायी प्रहरी बिट पहरियाको टोलीले अवैध रूपमा बन्डखोला दोहन गरेर नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ट्रली सहित दुवै टेक्टर नियन्त्रणमा लिएको जनाइएको छ ।
वाणी प्रहरीका अनुसार से.१त ९८०५ र से.१त ६४७६ एक साता देखि प्रहरीको नियन्त्रणमा छन् । उक्त दुवै टेक्टर मंसिर ६ गते साँझ ७ः५० मा बन्डखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्न लागेको थाँहा पाएपछि स्थानियले नियन्त्रणमा लिएको प्रहरीको जिम्मा लगाएको प्रहरी वरिष्ठ नायव निरीक्षक जिवन गुरुङले बताए ।
दुई टेक्टर मध्ये एउटा नेकपा एमाले कृष्णपुर नगर कमिटी इन्चार्ज तथा स्थानीय निर्वाचन २०७९ मा कृष्णपुर नगरपालिकाको लागि मेयर पदका उमेदवार लोकराज पन्त रहेको बुझिएको छ । भने अर्को टेक्टर स्थानीय रमेश रानाको रहेको प्रहरी स्रोतले बताएको छ ।
असोज दोस्रो साता सूचना जारी गर्दै कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई ५० हजार जरिवाना गर्ने सूचित गरेको थियो ।
नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई ५० हजार जरिवानाको निर्णयले केहि हदसम्म चोरी निकासीका घटनामा कमी आएको थियो । यद्यपी मंसिर ६ गते बन्ड खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्न लागेका दुई टेक्टर पक्राउ परेका हुन् ।
एक सात अहि पक्राउ परेका उक्त टेक्टर वाणी प्रहरीको नियन्त्रणमा छन् । नगरपालिकामा जरिवाना रकम तिरेपछि दुवै टेक्टर छोडिने प्रहरीले जनाएको छ ।
प्रहरी संगको पहिलो संवादमा एमाले नेता पन्तले आफ्नो टेक्टर भएको हुँदा छोडिदिन आग्रह गरेको स्रोतको दाबि छ । एक जना प्रहरी अधिकृतका अनुसार–टेक्टर जसको भएपनि गैर कानूनी कार्यमा रहेका बेला स्थानियले प्रहरीको जिम्मा लगाए पछि छोड्न नमिल्ने र नगरपालिकामा जरिवाना तिरेपछि मात्रै छोडिने प्रहरीको जवाफ पाएपछि नेता पन्त पछाडी हटेका हुन् । तत् पश्चात रमेश रानाले उक्त दुवै टेक्टर आफ्नो भएको बताउने गरेको प्रहरीको तर्क छ ।