Saturday, July 27, 2024

डेङ्गी रोगले लिन्छ ज्यानः समयमै सतर्क बनौं, सुदूरपश्चिममा एक सातामै दुईको मृत्यु ६ सय ८० जना संक्रमित

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी रोगको प्रकोप बढ्दै गएको छ । डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा एक साताको अवधिमा २ जनाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कंचनपुरमा एक युवक र हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेङ्गीबाट मृत्यु भएको हो । कंचनपुरको वेलौरी नगरपालिका–८ का २७ वर्षीय हिक्मत खत्रीको डेङ्गी रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।

डेङ्गी रोगको संक्रमण पछि धनगढी स्थित अस्पतालमा उपचार गर्ने क्रममा भदौ ११ गते खत्रीको मृत्यु भएको उनले बताए ।

युवकको मृत्यु भएको ५ दिनपछि हिमाली जिल्ला दार्चुलामा पनि डेङ्गीले एक छात्राको ज्यान गएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुला महाकाली नगरपालिका वडा नं–९ दत्तु बस्ने १४ वर्षीय किशोरी जेलिना चैसिरको डेङ्गीले मृत्यु भएको बताए ।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा जेलिनाको डेङ्गीको संक्रमणले भदौ १६ गते मृत्यु भएको उनले बताए । हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमणले मृत्यु भएको यो पहिलो पटक हो ।

केही वर्ष अघि सम्म लामखुट्टे नै नदेखिने हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमण सबैभन्दा बढी फैलिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा गत जनवरी देखि फाटफुट रुपमा देखा परेको डेङ्गी रोगको प्रकोप पछिल्ला दुई तिन साता यता तीव्र रुपमा बढेको छ ।

जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १ सय २९, अप्रिलमा २५, मे मा २२, जुनमा २६, जुलाईमा ५८ जनामा डेङ्गी रोगको संक्रमण देखा परेकोमा अगस्ट एकै महिनामा ३ सय ६५ जनामा संक्रमण देखिएको जोशीले बताएका छन् । सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ जनामा डेङ्गी रोगको संक्रमण देखा परेको छ । डेङ्गी रोगको संक्रमण कात्तिक महिना सम्म रहने उनको भनाई छ ।

सुदूरपश्चिमका हिमाली, पहाडी लगायत ९ वटै जिल्लामा डेङ्गी रोगको संक्रमण फैलिरहेको छ । सुदूरपश्चिममा दार्चुला, बझाङ र बाजुरा गरी ३ हिमाली जिल्ला, ४ पहाडी र २ तराईका गरी ९ वटै जिल्लामा डेङ्गी रोग तीव्र रुपमा फैलिरहेको छ ।

नेपालमा बि.सं. २०६१ मा पहिलो पटक देखा परेर २०६३ देखि प्रकोपको रुपमा फैलिए पनि सुदूरपश्चिममा वि.सं. २०६७ सालमा मात्र डेङ्गी रोगको संक्रमण देखा परेको थियो । भने पहाडी र हिमाली जिल्लामा ४ वर्ष यता मात्र डेङ्गी रोगको संक्रमण देखा परेको हो ।

गत वर्ष नेपालमा ठूलो क्षति गरेको डेङ्गीले सुदूरपश्चिममा ४ जनाको ज्यान लिएको थियो। कैलालीका २, कंचनपुरका १ र अछामका १ जनाले ज्यान गुमाएका थिए ।

विज्ञहरूका अनुसार एईडिज ईजिप्टी र एईडिज आल्बोपिक्टस प्रजातीका लामुखुट्टेले टोकेर डेङ्गी रोगको भाइरस मान्छेमा सार्ने गर्छ । यी दुई प्रजातीका लामखुट्टे सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा रहेको जोशीले बताएका छन् । अध्ययन गर्दा यी दुई प्रजातीका लामखुट्टे सबै जिल्लामा पाइएको उनको भनाई छ ।

यी प्रजातीका लामखुट्टे सेतो कालो रंग मिसिएको छिर्केमिर्के रंगको हुने गर्छन्। यी प्रजातीका लामखुट्टेले दिउसोको समयमा बढी टोक्ने गर्छन्।

डेङ्गी रोगका लक्षणहरुः

डेङ्गी भएमा अचानक ज्वरो आउँछ । टाउको, जोर्नी, ढाड शरीर, आँखाका गेडी, पिँडौलाको मासु बेस्सरी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने लक्षण देखिन्छन् ।

रोग च्याप्दै लगेपछि गिजाबाट रगत बग्ने, नाकबाट रगत बग्ने, जिउ दुख्ने, बारम्बार वान्ता हुने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिने गरेको चिकित्सक बताउँछन् ।

छाला मुनीपनि रगत बगेर बिबिरा देखिने, पिसाबबाट रगत बग्ने गर्छ । रोगले संक्रमण गरेमा आफूखुसी औषधी खाएमा रगत बग्ने क्रम बढेर ज्यान जोखिममा जान सक्ने भएकाले तुरुन्तै अस्पतालमा जानुपर्ने जोशी बताउँछन् ।

डेङ्गी रोगको संक्रमणबाट बाच्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गरेर लामखुट्टे नियन्त्रण गर्ने र लामखुट्टेको टोकाइबाट जोगिने विज्ञहरूको राय छ ।

(दिल बहादुर छत्याल–नागरिक न्यूज)

ताजा समाचार

सम्बन्धित समाचार