Saturday, July 27, 2024

भारतको संसद भवनमा राखिएको नक्साबारे प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित राजदूतावासलाई निर्देशन

प्रकाशित:

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतले संसद भवनमा राखिएको म्युरल (नक्सा) बारे प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित राजदूतावासलाई निर्देशन दिइसकेको बताउनुभएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा उहाँले म्युरलबारे भारतीय पक्षसँग बुझेर प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिइसकिएको बताउनुभएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नवनिर्मित भारतीय संसद भवनमा राखिएको म्युरलमा सम्राट अशोकको समयमा उहाँको साम्राज्यको फैलावट जनाइएको क्याप्सनमा लेखिएको पनि समितिलाई जानकारी दिनुभयो ।

‘यो विषय राजनीतिक विषय नरहेको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा समेत विदेशमन्त्रीबाट आइसकेको व्यहोरा समितिलाई अवगत छ,’ उहाँले समितिमा भन्नुभयो, ‘यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकिएको छ।’

भारतीय संसद भवनमा राखिएको म्युरलबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले नेपालको अन्तराष्ट्रिय सीमाबारे समिति, समितिका सदस्य, सरकार सबै स्पष्ट र दृढ रहेका पनि बताउनुभयो। ‘यस विषयमा हाम्रो राष्ट्रिय सहमति रहेको छ,’ उहाँले भन्नुभयो, ‘२०७७ असार ४ मा संविधानको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधीक गरिएको तथ्य अवगत नै छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त म्युरलबारे भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका बारेमा पनि प्रष्ट पार्नुभयो। ‘मैले केही साताअघि एक भारतीय मिडियालाई दिएको अन्तर्वातामा यस विषयका बारेमा बोलेको कुरा लाई लिएर भएको चर्चाबारे पनि स्पष्ट पार्न चाहन्छु,’ परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘उक्त समयमा सो म्युरलसँग सम्बन्धित जानकारी पूर्णरुपमा आइसकेको थिएन। प्रष्ट जानकारीको अभावमा यो विषयमा कुनै ठोस टिप्पणी गर्नको लागि त्यो उपयुक्त समय थिएन ।’

उहाँले नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तराष्ट्रिय सिमानामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार पूर्ण प्रतिवद्ध रहेको पनि प्रष्ट पार्नुभयो।

ताजा समाचार

सम्बन्धित समाचार