
महेन्द्रनगर । कञ्चनपुर प्रहरी र साइकलमा समान ओसार्ने महिलाहरु बिच भीमदत्त–५ सुकासालमा झडप भईरहेको बेला रिर्पोटिङ गर्न पुगेकी पत्रकार ऐश्र्या कुँवरमाथि प्रहरीले कुटपिट गरेको छ ।
मंगलबार साँझ भारतीय छिमेकी बजार बनबासाबाट महेन्द्रनगरका व्यापारीहरुका लागि समान ओसार्ने (क्यारिङ गर्ने) महिलाहरु र प्रहरी बिच भन्सार छली लगायतका बिषयमा विवाद पछि झडपको स्थिती पैदाभएपछि रिर्पोटिङका लागि पुगेकी पत्रकार कुँवरमाथि प्रहरीले कुटपिट पछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनु शाहीले रिर्पोटिङमा रहेकी पत्रकार कुँवरलाई दादागिरी शैलीमा निर्घात कुटपिट पछि पक्राउ गरेकी हुन् । प्रहरी निरीक्षक शाहीले पत्रकारलाई दलालको शंज्ञा दिदै, फोटो खिच्न, भिडियो बनाउन र रिर्पोटिङ गर्नै दिनु हुदैन भन्दै आफुलाई निर्घात कुटपिट गरेको पत्रकार कुँवरले बताइन् ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी भन्दा झण्डै २ किलोमिटर पुर्व तर्फ भीमना–५ सुकासाल पर्छ । प्रहरीले भन्सार छली गरेर समान भित्र्याउन खोजेको भन्दै क्यारिङ गर्ने महिलाहरुलाई समाते पछि झडप भएको थियो । उक्त घटनाको रिर्पोटङका लागि पत्रकार कुवँर घटना स्थल पुगेर फोटो, भिडियो एवं समाचारका लागि क्यारिङ गर्ने महिलाहरुको बाइट लिदै गरेको अवस्थामा प्रहरी निरीक्षक शाहीले अपाच्य गाली गर्दै कुटपिट गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएकी हुन् ।
आभाषकुञ्ज दैनिकमा कार्यरत पत्रकार कुँवर प्रहरीको कुटपिट पछि घाइते भएकी छिन् । उनको हात, खुट्टा, ढाड र टाउकोमा चोटपटक लागेको छ । प्रहरीले केही समय अघि पत्रकार कुँबरलाई महाकाली प्रादेशिक अस्पताल लगेर मेडिकल जाँच पछि रहोबरमा घर पठाइएको छ । उक्त घटनाको छानबिन बुधबार बिहान गर्ने कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।
घटनास्थलका प्रत्यक्षदर्शी र केहि क्यारिङ गर्ने महिलाहरुका अनुसार प्रहरी र क्यारिङकर्ताहरु बिच लेनदेन तथा कमिसनमा कुरा नमिल्दा उक्त लफडा निम्तिएको हो ।
