महेन्द्रनगर । कञ्चनपुरका निजामती कर्मचारी ट्रेड युनियनहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाका नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन बुझाएका हुन् ।
कर्मचारीका चार ट्रेडयुनियनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सयुक्त रुपमा बुधबार उक्त संयुक्त ज्ञापन बुझाएको निजामती कर्मचारी युनियनका सचिव गणेश बहादुर सिंहले बताए ।
उक्त सयुक्त ज्ञापनपत्रमा बैशाख १८ गते भित्र ऐनको मस्यौदा सार्वजनिक गर्न पर्ने माग राखेको सचिव सिंहले बताए ।
प्रशासन कार्यालयमा कर्मचारी संगठनले सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापन बुझाए ।
ज्ञापन बुझाउन युनियका अध्यक्ष प्रेम सिह ऐर, कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भान बहादुर महरा र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तम भट्ट लगायतका सहभागी भएका छन् ।
सरकारले सरोकारवाला सित छलफल नगरी मस्यौदालाई सहमतिका लागि अर्थ मन्त्रालय, कानुन मन्त्रालय र संसदीय मामिला मन्त्रालयमा लगेपछि राष्ट्रिय निजामती कर्मचारीका ट्रेड युनियनको राष्ट्रिय स्तरको आन्दोलन कार्यक्रम अनुसार जिल्लाबाट पनि संयुक्त ज्ञापन बुझाइएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष प्रेम सिंह ऐरले बताए ।