Friday, April 19, 2024

कृष्णपुर नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु,प्रदेश प्रमुखद्वारा उद्घाटन

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार कृष्णपुर नगरपालिका वडा न ४ मा रहेको कृष्ण मावि मौवाफाँटाको खेलमैदान एक भव्य समारोहका बिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको हो ।
राष्ट्रपति रनिङ सिल्डको उद्घाटन पश्चात प्रदेश प्रमुख जोशीले खेलले खेलाडीलाई मात्र नभइ देशलाई समेत चिनाउने भएकोले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । उहाँले विश्वका अल्पविकसित राष्ट्र पनि खेल पर्यटनबाट मनग्ये आम्दानी गरिरहेकाले हाम्रो देशमा पनि खेल पर्यटनको उच्च सम्भावना रहेको बताउनुभयो । त्यस्तै उद्घाटन सत्रमा बोल्नुहुँदै नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रलपनउच्च प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले एक वडा एक खेल मैदानको अवधारणा अनुरुप आफू अगाडि बढिरहेको र एउटा नगरस्तरीय राम्रो प्रतियोगिता आयोजना गर्न मिनि कबर्ड हल निर्माण गर्ने योजनामा समेत रहेको बताउनुभयो । नगरप्रमुख ओझाले विद्यार्थीहरुलाई पढाइ सँगसँगै खेलकुदमा पनि आकर्षित गर्न सके पछिल्लो समय देखिएको लागुऔषधको समस्याबाट पनि विद्यार्थीलाई छुट्कारा दिन सकिने बताउनुभयो ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहनुभएको थियोे । त्यस्तै विशिष्ट अतिथिमा संविधान सभा सदस्य कमल क्षेत्री,प्रदेश सभा सदस्य गीता चौधरी,निवर्तमान प्रदेश सभा सदस्य,देवराज पाठक,जिल्ला समन्वय समिति कंचनपुरका संयोजक दुर्गा बोहरा,जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का लगायत रहनुभएको थियो ।

अतिथिमा कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना,नौ वटै वडाका वडाध्यक्षहरु,प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्ट,राष्ट्रिय भुमी आयोग कंचनपुरका सदस्य दिल देउवा विभिन्न विद्यालय,क्याम्पसका प्राचार्य र प्रमुख लगायत हजारौंको संख्यामा दर्शकको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन कृष्णपुर नगरपालिकाका सुचना अधिकारी प्रेम बोगटीले गर्नुभएको थियो । बुधबार सुरु भएको प्रतियोगिता माघ २७ गतेसम्म चल्नेछ,रनिङ सिल्डमा कृष्णपुर भरीका २३ माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार