Friday, March 29, 2024

जग्गा नापजाँचको काम कुनैपनी बहानामा रोक्नुहुँदैन,रोकिन्नः मेयर हेमराज ओझा

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकामा जारी भुमी इकाई अन्तर्गत अव्यवस्थित बसोबास,भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुको जग्गा नापजाँचको काम कुनैपनि हालतमा नरोकिने बताए ।

आइतबार कृष्णपुर नगरपालिकाका विभिन्न वडामा जग्गा नापजाँच गरिरहेका फिल्डका सर्वेक्षक,अमिन र इकाइ प्रमुखहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर हालसम्मको जग्गा नापजाँचको प्रगति विवरणको जानकारी लिदै सो कुरा बताएका हुन ।

नगरप्रमुख ओझाले नगरबासीले वर्षौंदेखि जग्गा भोगचलन गरेको तर पुर्जा प्राप्त गर्न नसक्दा अत्यन्तै मारमा परिरहेकाले आफुले जग्गा नापजाँचको काम सकाएर लालपुर्जा वितरण गर्ने कामलाई प्राथमिकतामा राखेको बताए ।

उनले पटक पटक भुमिसम्बन्धी आयोग बन्ने तर वास्तविक भुमिहिनले पुर्जा नपाउने क्रम दोहोरिएकोले आयोगसम्बन्धि नागरिकको विश्वास घट्दै गैरहेको बताए । त्यसैले अब कुनैपनी बहानामा जग्गा नापजाँचको काम रोक्न नहुने नगरप्रमुख ओझा बताउँछन ।

आइतबार नगरप्रमुख ओझाले आफ्नो कार्यकक्षमा कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच गरिरहेको टोलीका सदस्यहरुलाई बोलाएर हालसम्मको प्रगति विवरण के कस्तो रहेको छ र जग्गा नापजाँचका क्रममा आइपरेका कठिनाइ लगायतका विषयमा जानकारी लिएका छन् ।

त्यस्तै फिल्डका सर्वेक्षक,अमिन र इकाइ प्रमुखहरुलाई कसैको प्रलोभनमा नपरी निर्धक्कका साथ जग्गा नापजाँचको कामलाई तिब्रता दिन समेत नगरप्रमुख ओझाले निर्देशन दिएका हुन ।

हालसम्म कृष्णपुर नगरपालिका अन्तर्गत वडा न १ मा ३३४५ कित्ता,वडा न २ मा ४४०० कित्ता ,वडा न ४ मा २८०० कित्ता र वडा न ९ मा २५०० कित्ता जग्गा नापजाँचको काम सम्पन्न भएको व्यहोरा जानकारी गराउँदछौं ।

साथै वडा न ३ मा पनि अव्यवस्थित बसोबास,भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुको जग्गा नापजाँचको काम छिट्टै शुरु गरिने नगरप्रमुख ओझाले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार