Friday, March 29, 2024

सीमाका बस्तीमा शृंखलाबद्ध चोरी डकैती गर्ने ‘भारतीय गिरोह’ सार्वजनिक

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा शृंखलाबद्ध चोरीडकैती गर्ने ‘भारतीय गिरोह’लाई प्रहरीले सार्वजनिक गरेको छ। बेलौरी नगरपालिका– १ र २ का सीमावर्ती नेपाली गाउँबस्तीमा चोरीडकैती गर्ने भारतीय गिरोहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार सार्वजनिक गरेको हो।

बेलौरी वडा नं १ फटैयागाँउका स्थानीय ललिता भट्ट तथा वडा नं २ बैजुडाँडाका मनोज चौधरी र प्रेमनाथ चौधरीको घरबाट नगद, गरगहनासहित अन्य धनमाल लुटपाट गरेको अभियोगमा गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए।

उनका अनुसार सीमावर्ती नेपाली बस्तीमा लुटपाट मच्चाउँदै आएका उत्तर प्रदेश लखिमपुरखिरी मिलौलीका ३२ वर्षीय राजु इन्द्रिसी, मिलौली बस्ने मुुजिवा बन्जरा र पलिया हसिमराना बस्ने ४२ वर्षीय युसुफ अलीलाई सार्वजनिक गरिएको हो।

उनीहरूले नेपाली बस्तीमा हतियार देखाएर लुटपाट मच्चाएका बताइएको छ। ७ पुसमा फटैयाकी ललिता भट्टको घरमा नगद तीन लाख २० हजारसहित सुनका गरगहना लुटपाट भएको एक साता नबित्दै १२ पुसमा बेलौरी १ बैजुडाँडाका मनोज चौधरी र प्रेमनाथ चौधरीको घरबाट ६० हजार नगदसहित गरगहना र अन्य सामान लुटपाट भएको थियो।

भारतीय लुटेरा समूहले हतियारसहित आएर लुटपाट मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक दानसिंह भण्डारीले सीमा क्षेत्रमा अप्रेसन नै चलाएका थिए।

बेलौरी सीमावर्ती गाउँमा लुटपाट मच्चाएपछि प्रहरी निरीक्षक भण्डारी नेतृत्वमा सीमा क्षेत्रमा खटिएको प्रहरीले एक राजु इन्द्रिसीलाई नेपाल प्रवेशकै क्रममा शनिबार राति २ः३५ बजेतिर पक्राउ गरेको थियो। बाँकी दुईजना भागेका थिए।

इन्द्रिसीको साथबाट ४ राउन्ड ठूलो गोली र २ राउन्ड सानो गोली बरामद भएपछि भागेका दुईजनाको प्रहरीले खोजी गरेको थियो। आइतबार बिहान ७ः५५ बजेतिर उखुबारीमा लुकेका मुुजिवा बन्जारा र युसुफ अली पक्राउ परेका थिए।

उनीहरूको साथबाट १ थान पेस्तोल र ६ थान गोलीसहितका सरसामान बरामद भएको छ। उनीहरू तीनैजनाले यसअघि तीन नेपालीको घरमा लुटपाट गरेको स्वीकार गरेका छन्।

भारतमा ८ महिना जेल बसेका राजुको नेपालमा लुटपाट
सीमावर्ती बेलौरीका गाँउबस्तीमा हतियार देखाएर लुटपाट मच्चाउँदै आएका भारत उत्तराखण्ड लखिमपुर थाना मितौलाका राजु इन्द्रिसी सिलाइकटाई व्यवसाय गर्दै आएका थिए। उनी भारतमा मोटरसाइकल चोरी मुद्दामा लखनउमा ८ महिना जेल बसेका थिए।

चोरी मुद्दामा ८ महिना कैद र २३ हजार ३ सय रुपैयाँ जरिवाना तिरेका इन्द्रिसी नेपाल आएर फेरि लुटपाटमै संलग्न भएका हुन्। उनी मोटरसाइकल, बाख्रालगायत चोरीडकैती गर्दै आएका थिए।

मुजिवा बन्जरा मजदुरी गर्दै आएका थिए भने मजदुरी नै गर्ने युसुफ अली सारीचुरालगायतको बिक्री वितरण गर्दै आएका थिए। उनीहरूलाई राजु इन्द्रिसीले नै नेपालमा लुटपाट गर्न ल्याएको प्रहरीको प्रारम्भिक अनुमान छ।

उनीहरू तीनैविरुद्ध संगठित डाँकाचोरी, हातहतियार खरखजनाअन्तर्गत मुद्दा दायर गर्ने कञ्चनपुर प्रहरीको तयारी छ।

ताजा समाचार

सम्बन्धित समाचार