२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

कैलालीमा भएको गोलि काण्डमा सुखडबाटै सुनारलाई पछ्याइरहेका थिए

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । गोदावरी नगरपालिका–२ अत्तरियास्थित सशस्त्र प्रहरी बाहिनी नजिक गोली चल्दा सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका थिए  ।

उनीमाथि अज्ञात व्यक्तिले २ राउण्ड गोली चलाएको खुलेको छ । सुनारको सुखड र अत्तरियामा सुनचाँदीको पसल छ । प्रहरीका अनुसार दिउसो सुखड र राति अत्तरिया आउथे सुनार ।

हिजो बेलुका करिब ६ बजे पसल बन्द गरेर उनी सुखडबाट अत्तरियातिर आउदै थिए, प्रदेश ३०२०११ प ७३५० नम्बरको निजी मोटरसाइकलमा करिब ६ बजेर २० मिनेटमा उनीमाथि गोली प्रहार भएको थियो ।

सेतो कलरको अपाचे मोटरसाइकल चढेर पूर्वबाट पश्चिमतर्फ आइरहेका दुई जना अज्ञात व्यक्ति मध्ये पछाडि बसेकाले सुनारमाथि गोली प्रहार गरेको कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए ।

‘गोली हान्नेहरू पक्राउ परेका छैनन्, खोजतलास भइरहेको छ,’ उनले भने, ‘सुनारमाथि २ गोली चलाइएको खुलेको छ ।’

पहिलो गोली छलेका थिए, सुनारले। दोस्रो गोली उनको दायाँ पाखुरामा लागेको थियो । त्यसपछि मोटरसाइकलबाट खसेका सुनारको ढाडमा पनि चोट लागेको छ ।

गोलीको आवाज सुनेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए । त्यसपछि सुनारको उद्धार गरी धनगढी ल्याइएको थिए ।

अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार जारी छ । उनी खतरामुक्त रहेको तर डिस्चार्ज भने नभएको प्रहरीले जनाएको छ ।

सुनारमाथि गोली चलाउनेहरू राति नै फरार भएको र खोजी तीव्र पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीमाथि कसले र किन गोली चलायो? त्यो भने खुल्न बाँकी छ ।

घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीका फरकफरक टोली खटिएका छन् ।

३५ तोला सुन लुटिएको दाबी
गोली लागेर घाइते भएका व्यवसायी सुनारले आफ्नो साथमा रहेको सुन लुटिएको दाबी गरेका छन् ।

घाइते सुनारले आफूसँग करिब ३५ तोला सुन (तयारी गहना) रहेको र उक्त सुन तिनै बन्दुकधारीले लुटेर भागेको दाबी गरेका हुन् ।

प्रहरीसमक्ष सुनारले आफूलाई लुटपाट तथा ज्यान मार्ने किसिमले नै आक्रमण भएको बताएको कैलाली प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी जोशीले बताए ।

प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको ठाउँको सिसिटिभी क्यामेराका फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुनारलाई गोली चलाउनेहरूले सुखडस्थित पसलबाटै पिछा गर्दै आएको खुलेको छ ।

घटनामा सुनारकै साथी तथा निकटस्थहरू संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

गोली प्रहारको घटनापछि कैलालीको अत्तरिया क्षेत्रका व्यवसायीहरू त्रसित भएका छन् । दिनदहाडै व्यापारीमाथि गोली चलाएपछि असुरक्षित महसुस गरेको उनीहरुको भनाई छ ।

सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार