महेन्द्रनगर । युएईसँगको तेस्रो तथा निर्णायक खेलमा नेपाली टोलीका पूर्व क्याप्टन ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
ओपनर आसिफले करिअरको चौथो अर्धशतक पूरा गरेका हुन् । उनले २७/२ ओभरमा अहमद राजाको बलमा २ रन लिएर अर्धशतक पूरा गरेका हुन् ।
७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीसँगको खेलमा एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गरेका आसिफले चार महिनाअघि आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्डविरुद्ध ७१ रनको अर्धशतकीय पारी खेलेका थिए ।
ज्ञानेन्द्रले एकदिवशीय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गरेका हुन् । तीन खेलको शृंखलाअन्तर्गत निर्णाण्क खेलमा नेपालले १७७ रनको लक्ष्य पछ्याइरहेको छ ।
ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका ज्ञानेन्द्रले २९/४ ओभरमा अहमद राजालाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दा नेपाल शृंखला जिततर्फ अग्रसर छ ।
ज्ञानेन्द्रले पाँच खेलपछि र आसिफले चार खेलपछि अर्धशतक बनाएका हुन् । दोस्रो विकेटको लागि यो नेपालको उच्च साझेदारी हो । यसअघि गत वर्ष ओमानविरुद्ध ज्ञानेन्द्र र आसिफले नै ९२ रनको साझेदारी गरेका थिए ।
ज्ञानेन्द्रले सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डसँग पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।
पछिल्लोपल्ट सन् २०२१ सेप्टेम्बर १९ मा ओमानसँगको खेलमा अविजित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । २१ एकदिवशीय अन्तर्राष्ट्रियमा ५ अर्धशतकसहित ज्ञानेन्द्रले ५ सय भन्दा बढी रन बनाएका छन् ।