Saturday, July 27, 2024

डडेलधुरामा प्रधानमन्त्रीका चार दिन : मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म

प्रकाशित:

महेन्द्रनगर । पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेलधुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गरेका देउवा अहिले माउ पार्टी कांग्रेसकै सभापति छन् ।

उनी नै आगामी मङ्सिर ४ मा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । प्रतिनिधिसभामा यो उहाँको सातौँ पटकको उम्मेदवारी हो ।

यसअघि छपटक उनले यसै क्षेत्रबाट निर्वाचित भएको छ र मुलुकको गृह हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसैले आसन्न निर्वाचनमा पनि यहाँका जनताले उनलाई नै चयन गर्नेमा उनी ढुक्क छन् ।

सात स्थानीय पालिका रहेको डडेल्धुरामा यस पटक निर्वाचन लक्षित चारदिने कार्यक्रम सकेर धनगढी फर्किएका प्रधानमन्त्री देउवाले गृह जिल्लाको समग्र विकासका जनआकाङक्षानुसार अघि बढ्ने योजना मतदाताहरुलाई चुनावी सभाका क्रममा सुनाए ।

आइतबार भित्रीमधेसस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट बिदा भएर धनगढी आएका प्रधानमन्त्री देउवाको चुनावी भेटघाट नियमित छ ।

विसं २०४८ को संसदीय निर्वाचन जितेपछि जितको यात्रालाई सातौँपटक निरन्तरता दिने तयारी रहेका देउवाललाई यस पटक भने विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको दरिलो साथ रहेको छ ।

सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलसम्म रहेका छन् ।

चुनावी सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीयस्तरमा रहेका समस्या समधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमनस्थल निर्माणको विषय मतदातासामु राखे ।

डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा देउवाको सभामा सहभागी भएका आलिताल गाउँपालिका–४ का ९० वर्षीय बलभद्र बोहराले देउवालाई सुदूरपश्चिमको खम्बाका रुपमा चित्रण गर्छन् ।

‘‘देउवाजी सुदूरपश्चिमको अभिभावक र हाम्रो खम्बा नै हो”, उनले भने, “डडेलधुरावासीले राखेका माग उहाँले पूरा गर्दै आउनुभएको छ, उहाँप्रति नै हाम्रो आशा र भरोसा रहेको छ ।”

उनले देउवाले राज्य तथा राजनीतिमा प्राप्त गरेको सफलता सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए । “भित्रीमधेसमा राम्रो अस्पताल भइदिए बिरामीहरुले उपचारका लागि तराई झर्नुपर्ने थिएन”, बोहराले भने, “यहाँ पानीको स्रोत भए पनि सिँचाइका लागि व्यवस्था गरिदिए हुन्थ्यो, यसपालि उहाँलाई जनताले राम्ररी माग राखेका छन्, हेरौँ यो पनि उहाँले पूरा गर्नुहुनेछ ।

” उनले स्थानीय खोलाको तटबन्ध निर्माण बाँकी रहेको सो विषय नेताहरुलाई दबाब दिइने बताए । निष्ठाको राजनीतिमा खडेरी परिरहेका बेला डडेल्धुरावासी एकताबद्ध भएर लामो समयदेखि देउवालाई नै जिताउँदै आएका छन् र उनले पनि यहाँका नागरिकको आशा र भरोसाको सम्मान गर्दै आएका छन् ।

बोहराले भने, “अहिले त बुवा-छोराको विचार नमिल्ने बेला देउवाजीले ठूला पार्टीबीच गठबन्धन गरेर कुशल क्षमता प्रदर्शन गर्नुभएको छ यसलाई हामीले सम्मान गर्नुपर्छ ।”

चुनावी सभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिँडे । “मै सित माओवादी नेता खगराज भट्टजी तीनपटक निर्वाचन हारे”, देउवाले भने, “यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ ।

” उनले विगतको राजनीति लडाइँ बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको विषयमा मतदातालाई आश्वस्त पारे ।

चुनावी सभाका क्रममा यहाँको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनलाई नै मत मागे ।

डडेल्धुरामा नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट प्रदेशसभा ९क० मा माओवादी नेता खगराज भट्ट र ९ख० मा नेपाली कांग्रेसका नेता प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज जोशी उम्मेदवार छन् ।

आलितालका गाउँपालिकाका ७६ वर्षीय रामसिंह बोहराले देउवाले सुदूरपश्चिमलाई मूलधारसित जोड्न कर्णाली पुल बनाउनेदेखि यहाँका ठूला विकासमा पहल गरेको बताए । “सुदूरपश्चिमलाई देश चिनाउनेदेखि यहाँको विकासका लागि उहाँको ठूलो भूमिका छ”, उनले भने, “अहिले पनि डडेल्धुराको विकासका धेरै योजनाहरु जारी छन् ।” बुबाका पालामा टनकपुरबाट भारी बोकेर नुन यहाँ पु¥याउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

“सडक पूर्वाधार गाउँगाउँसम्म बने र घर–घरमै नुन पुगिरहेको अवस्था छ”, बोहराले भने, “उपचारका लागि मात्रै यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छैन ।” ९१ हजारभन्दा केही बढी मतदाता रहेको डडेलधुरामा आसन्न निर्वाचनका लागि एक सय ३९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।

प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसकेका छन् र पाँच पटकसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचन यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला नेतासमेत हुन् देउवा ।

डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, विद्युत्, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन् भने अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेको नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार