Friday, March 29, 2024

निर्वाचनपछि देशको प्रधानमन्त्री देउवा हुन्छन् : कांग्रेस प्रवक्ता महत

प्रकाशित:

महेन्द्रनगर । आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब कांग्रेसनै सबै भन्दा ठूलो दल बन्ने भएकाले निर्वाचनपछि देशको प्रधानमन्त्री शेरबहादुर देउवानै बन्ने दाबी गरेका छन् ।

‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ, स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा औपचारिक कुनै छलफल भएको छैन, तर, स्वभाविक रुपमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ ।’

विगतमा संसदमा कम संख्या हुँदा पनि अन्य दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै उनले निर्वाचनपछि कांग्रेस ठूलो दल हुने भएकाले स्वतः सरकारको नेतृत्व गर्ने बताए ।

उनले गठबन्धन दलको स्पष्ट बुहमत आउने पनि दाबी गरे । स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने उनले बताए ।

यस्तै एउटा दलको मात्रै बहुमत आउने सम्भावना नभएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ थियो । ‘अहिले लक्ष्य र उद्देश्य सबै मिलेको छ,’ उनले भने, ‘परिणाम राम्रो ल्याउने छौं ।’

कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका महतले पछिल्लो समय निर्वाचन आचारसंहिताका नाममा निर्वाचन आयोगले सेन्सरशीप गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

‘नर्वाचन आयोगले धेरै सीमा तोकर सेन्सरशीप गर्न खोजेको छ,’ उनले भने, ‘यसमा कांग्रेस सन्तुष्ट छैन, तर अहिले विवाद गर्ने भन्दा पनि समाधानतर्फ जानुपर्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार