Friday, March 29, 2024

सर्वोच्चमा उम्मेदवारी खारेज विरूद्ध रिट हाल्दै डा. तोसिमा कार्की

प्रकाशित:

महेन्द्रनगर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णय विरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन् ।

निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो । उम्मेदवारी खारेजविरूद्ध उनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन् । उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरूद्ध म सर्वोच्च जान्छु, उनले भनिन् ।

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। उनी काउन्सिलको बैठक तथा अनुगमनमा जाँदा भत्ता लिएको पाइएकोले पनि आयोग स्रोतको भनाइ छ ।

तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन् ।

आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन् । तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन ।

हेर्नुस् पत्र:

समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैँले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु ।

जसरी उजुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनिर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ ।

स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ,’ उनले भनेकी छन् ।

कार्कीको उम्मेदवारी खारेज गर्नुअघि आयोगले उनी र मेडिकल काउन्सिलसँग स्पष्टीकरण समेत सोधेको थियो ।

अब उनको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिन पाउने छैन । अदालत भने गएर मुद्दा लड्न सकिनेछ । त्यसैकारण कार्की सर्वोच्च अदालत जाने भएकी छन् ।

हेर्नुस् आयोगको विज्ञप्ति: 

 

ताजा समाचार

सम्बन्धित समाचार