महेन्द्रनगर । ओली कार्तिक १८ गते बिहान दार्चुलाको खलंगा आउने कार्यक्रम तय भएको एमाले दार्चुलाका उपसचिव तथा प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए । नेकपा (एमाले) ले यहीँ १८ गतेबाट राष्ट्रव्यापी चुनावी अभियानको सुरुवात गर्ने भएको छ ।

आफ्नो नेतृत्वमा भारतद्धारा अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ती भूभाग समेटिएको दार्चुलामा पहिलो चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

दार्चुलाको कार्यक्रम सम्पन्न भएपछि ओली बैतडी आउने एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले बताए ।

त्यहीँ दिन साँझ ४ बजे अध्यक्ष ओलीले कञ्चनपुरको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटव्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पालले बताइन् ।
कञ्चनपुरमा कहाँ सभा गर्ने भन्ने बारेमा स्थान अझैँ तय भएको छैन् । बेलौरी वा महेन्द्रनगर मध्ये एक ठाउँमा कार्यक्रम गरिने एमालेले जनाएको छ ।
एमालेले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेकोलाई यहाँका एमाले नेता तथा कार्यकर्ताले अर्थपूर्ण रुपमा हेरेका छन् । (सीमारेखा)