Friday, March 29, 2024

तिहारको महत्व : तिहार किन मनाईन्छ ?

प्रकाशित:

महेन्द्रनगर । नेपालमा हिन्दुहरूको दशै पछि दोस्रो ठूलो चाडपर्वका रूपमा मानिने पर्वलाई तिहार भनिन्छ । यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुकला दित्तीयसम्मका दिनसम्म मनाइन्छ।

नेपाल अधिराज्य भरका हिन्दूहरूले यो चाड धूमधामसँग मनाउने गर्छन् । नेपालबाहिर बस्ने हिन्दू नेपालीहरू पनि यस चाडलाई उत्तिकै महत्त्व दिई मनाउने गर्दछन् ।

यो पर्वलाई सबै परिवार एक साथ मिलेर मनाईने गरिन्छ । बिहे भएर गएका दिदिबहिनिहरु तिहार मनाउनका लागि टाढा-टाढा बाट माइती घर आउने चलन रहेको छ ।

तिहारको दिन सबैको घर-घरमा मिठो-मिठो खानेकुराहरु पकाएर खाने गर्दछन् । विशेष गारि तिहार पर्व लाई दिदिभाईले मनाउने मान्यता रहेको छ । दिदिले भाईलाई टीका लगाई सयपत्री फूलको माला लगाएर आर्शिवाद दिने चलन रहेको छ ।

काग तिहार:

तिहारको पहिलो दिन काग तिहार मनाईने चलन छ । त्यो दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ, भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने चलन रहेको छ । काग तिहारको दोस्रो दिन कुकुर तिहार मनाईने गरिन्छ ।

कुकुर तिहार:

कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ ।

यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ । ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ ।

यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ ।

यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।

लक्ष्मी पूजा/गाईको पूजा

तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिने चलन छ । यस दिन लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । यसै दिन साँझ लक्ष्मीपूजा गरिन्छ ।

घरआँगन सफासुग्घर गरेर रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पूजा गरिने गरिन्छ । लक्ष्मीलाई सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।

झ्यालढोकामा सयपत्रीको माला लगाएर अगरवत्ति जलाईने गरिन्छ । त्यो दिन सबैको घरमा लक्ष्मि आउँछिन भन्ने मान्यताछ । यसै दिनबाट गाँउघरमा देउसी भैलो खेल्ने गरिन्छ ।

देउसी भैलो किन खेल्ने गरिन्छ ?

बलिराजाले ठूलो तपस्या गरी देवताहरुलाई युद्धमा जितेर तीन लोक चौध भुवनमा राज्य गरेका थिए । देवताहरुलाई हराएर राज्य चलाए पनि अन्य दैत्यसरह उनले कुकृत्य भने गरेनन् ।

उनी धर्मकर्ममा निपूर्ण थिए । उता, देवताहरु भगवान् विष्णुकोमा गई राक्षसहरुले हराएको कुरा पहिले नै बताएका थिए । तर, राजा बलीका भक्तिका कारण भगवान् विष्णुले देवताहरुको भनाइलाई त्यति चासो नदिएर म भक्तको अधीनमा रहेको र बलीको पुण्य सकिएपछि राज्य दिलाउने बताए ।

उता, बलीले ठूलो यज्ञ गरी गरिब, निमुखा र ब्राह्मणलाई आवश्यक परेको कुरा दान दिन लागे । राजा बलीको दानरुपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो ।

उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुप¥यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रुप धारण गरी अवतरित हुनुभयो ।

केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रुप धारण गरी राक्षस राजा बलीको यज्ञस्थलमा भिक्षाम् देही भन्दै जाने काम गर्नुभयो ।

दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– हे कुमार, तिमीलाई के चाहिन्छ माग । कुमाररुपी वामन भगवान्ले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो ।

तर, वामनलाई चित्त बुझेन र भन्न थाले– अलि माग, त्यति जाबो के मागेको रु भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो । वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो । यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन ।

उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् । वामनले यतिमात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरू शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन् । तर, राक्षसका गुरू शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् ।

तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य संकल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् ।

वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले मत्र्यमण्डल ढाकिन्छ । अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन । सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् ।

भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । भनिएको छ, अतिरपेण वै सति अति गर्वेण रावण, अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् ।

बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपूर्ण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् । त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ रहेको छ ।

यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ । बलीले राज्य गर्दा कलिको प्रवेश हुने र गाउँघरमा सामान्य जुवातास खेलेर कलिको झल्को दर्शाउने पनि गरेको पाइन्छ ।

गोवद्र्धन पूजा

तिहारको चौथो दिन गोवद्र्धन पूजा अर्थात् गोरुको पूजा गरिन्छ । भगवान् शिवको वाहन गोरूका साथै गोवद्र्धन पर्वतको पनि पूजा गरिन्छ । गोबरको पर्वत बनाएर पूजा गर्दा घरमा लक्ष्मीले बास गर्ने र धनसम्पत्तिको कहिल्यै खाँचो नहुने भनाइ रहेको छ । गोवद्र्धन पूजाको द्रोस्रो दिन भाईटिका लगाईने गरिन्छ ।

भाई टीका

यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई मेवामिष्ठान्न दिएर पूजा गर्ने गर्दछन् । दिदीबहिनीले दाजुभाइलाई शरीरमा लपक्क तेल लगाइदिन्छन् । कहिल्यै नसुक्ने मखमली फूलको माला लगाउछन् ।

सेल, बदाम, ओखर, काजु, नरिवल आदि प्रशस्त चिल्लो पदार्थ खान खानेकुराहरु दिने गर्छन् । दिदीबहिनीले दाजुभाइलाई चिल्लो पदार्थ खान दिनु र कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिनुमा पनि रहस्य छ ।

सत्ययुगमा यमराज आफ्नी बहिनी यमुनाकोमा बहिनीज्वाइँलाई लिन आएका थिए । यमराज बहिनीकोमा आउँदा बहिनीले यस्तै कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिएर चिल्लाचिल्ला मेवामिष्ठान्न दिएर दाजु यमराजको स्वागत गरेकी थिइन् ।

उनको पूजाले प्रसन्न भएको यमराजले बहिनीलाई भनेका थिए, तिम्रो पतिको शरीरमा लगाएको तेल नसुकुन्जेल, खाएको चिल्लो पेटमा नसुकुन्जेल र लगाएको माला नसुकुन्जेल मैले उनलाई लाने छैन । यसरी दाजु यमराज बहिनीको घरमा पाँच दिन बसेर बहिनीलाई आशीर्वाद दिँदै आफ्नो राज्यमा गएका थिए ।

सोही बेलादेखि दिदीबहिनीले दाजुभाइलाई चिल्ला पदार्थ र नसुक्ने फूलको माला लगाई दीर्घायुको कामनासहित पूजा गर्ने परम्परा रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यसरी चिल्लो पदार्थ र नसुक्ने फूलको माला लगाएर यस पर्वलाई मनाउने प्रचलन रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार