Friday, April 19, 2024

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा ४२ प्रतिस्पर्धीमध्ये सात जना महिला

प्रकाशित:

महेन्दनगर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ मा ४२ जनाको उम्मेदवारी परेको छ ।

त्यसमध्ये स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए । अधिकारीको अनुसार प्रतिनिधिसभा एक सदस्यका लागि काठमाडौँ क्षेत्र नं ९ बाट २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसमध्ये दलबाट १२ र स्वतन्त्रतर्फबाट १० उम्मेदवारी परेको छन् । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या पाँच र पुरुष उम्मेदवारको सङ्ख्या १७ रहेको छ । यसैगरी काठमाडौँ क्षेत्र नं ९ मा प्रदेशसभामा दुई पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा (क) मा दलका तर्फबाट सात र स्वतन्त्र उम्मेदवार तीन गरी १० उम्मेदवार रहेको अधिकारीले बताए । त्यसमा महिला उम्मेदवारको सङ्ख्या दुई र पुरुष उम्मेदवारको सङ्ख्या आठ रहेको छ । प्रदेशसभा (ख) मा दलको तर्फबाट सात र स्वतन्त्र तीन गरी दश जनाको उम्मेदवारी रहेका छन् ।

तीमध्ये दशै जना पुरुष उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काठमाडौँ क्षेत्र नं ९ बाट ३५ पुरुष र सात महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त क्षेत्रमा जम्मा ७२ हजार एक सय ७३ मतदाता रहेका छन् । त्यसमध्ये प्रदेश (क) मा कूल ३७ हजार एक सय र प्रदेश (ख) मा ३५ हजार ७३ मतदाता रहेका छन् ।

काठमाडौँ क्षेत्र नं ९ मा ३४ मतदानस्थल तोकिएको छ भने ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चार, चन्द्रागिरी नगरपालिकाका पाँच र नागार्जुन नगरपालिकाका पाँच वडा समेटिएका छन् ।

यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नं १२, १४, २१ र २२ तथा चन्द्रागिरि नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० छन् । (खबरहब)

 

ताजा समाचार

सम्बन्धित समाचार