Friday, March 29, 2024

कञ्चनपुर-२ मा एनपीको प्रश्न धामीलाईः अघिल्लो चुनावमा गरेका प्रतिवद्धता पुरा गर्न के ले रोक्यो ?

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले गठबन्धन चुनाव जित्नका लागि मात्र नभएर स्थिर सरकार निर्माण गरी विकास निर्माणलाई गति दिनका लागि बनेको बताएका छन्।

विगत ५ वर्षमा एमालेले जनताका पक्षमा काम गर्न नसकेको आरोपसमेत उनले लगाए । जनताबाट चुनिएर गएका एमालेका जनप्रतिनिधिहरुले विगतको ५ वर्षमा एउटा पनि विकास निर्माणको काम गर्न नसकेको टिप्पणी उनको छ ।

‘विगतमा चुनावमा गरेका प्रतिवद्धता पुरा गर्न के ले रोक्यो? जितेर गएका व्यक्तिले विकासको नाममा सिन्को भाँच्न सकेनन्, विकास गर्ने पार्टी कांग्रेस हो,’ कृष्णपुर नगरपालिका–७ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले भने।

आफू निर्वाचित भएर गएमा वर्षौदेखि लालपुर्जाविहीन किसानको जमिन नापजाँच गरेर लालपुर्जा दिने उनले प्रतिबद्धता जनाए।
‘विगतमा जति भएपनि लालपुर्जा हामीले नै बढाएका हौँ, पछि बाढिएनन्,’ उनले भने, ‘आयोग गठन भएर काम भइरहेको छ, अब सहुलियत दरमा जनताको हातमा लालपुर्जा पर्छ।’

महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत नहर सञ्चालनपछि कञ्चनपुर र कैलालीका किसानको खेतमा शाखा नहरमार्फत पानी पुग्ने साउदको धारणा छ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता साउद आसन्न चुनावमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार छन्। नेकपा एमालेबाट ०७४ मा चुनाव जितेका नेता नरबहादुर धामी उनीसँग प्रतिस्पर्धा गरिरहेका छन्।

नदी कटान, विद्युत, सडक, पुलपुलेसा, जंगली जनावरको आतंक लगायतको समस्याको बारेमा आफू जानकार रहेको बताउँदै साउदले निर्वाचित भएमा ती समस्या समाधान गर्ने प्रतिवद्धता जनाए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत प्रमुख राजनीतिक दलको गठबन्धन चुनाव जित्नका लागि मात्रै नभएको साउदको दाबी छ।

‘चुनाव जित्न मात्रै होइन, जनताबाट अनुमोदन भएर आएमा ५ वर्षसम्म सरकार चलाउन स्थिरताको उद्धेश्यका साथ गठबन्धन अगाडि बढाएका छौँ,’ उनले भने, ‘प्रजातन्त्र अहिलेसम्म बलियो भएको छैन।’

गठबन्धनले सर्वदलीय संस्कृतिलाई अगाडि बढाएको उनले बताए। संविधानले मिश्रित निर्वाचन प्रणाली अंगालेकोले एक्लै कुनै पनि दलको बहुमत आउन नसक्ने हुनाले गठबन्धनसहित अनुमोदनका लागि जनतामा जानु परेको उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अधिनायकवाद विरुद्ध गठबन्धन बनेको साउदले स्मरण गराए। ‘ओली जीले सरकार चलाउँदा संविधान भत्काउने काम गर्नुभयो, उहाँबाट लोकतन्त्र खतरामा परेकोले संविधानको रक्षाको लागि राष्ट्रिय गठबन्धन बन्यो,’ उनले भने, ‘कांग्रेसकोे नेतृत्वमा दोस्रो पटक संविधान कार्यान्वयनको महत्वपूर्ण चरण आम निर्वाचन हुदैछ।’ सिमारेखा

ताजा समाचार

सम्बन्धित समाचार