ज्येष्ठ नागरिकको सम्मान र खेलकुद प्रवर्द्धनको सन्देशसहित पुनर्वासमा मेयर कप फुटबल सुरु

प्रकाशित:

किशोर तामाङ

पुनर्वास (कञ्चनपुर), ९ मंसिर । ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्नुका साथै स्थानीयस्तरमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको पुनर्वासमा तेस्रो संस्करणको ज्येष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

श्री राम युवा क्लबको आयोजना तथा पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रवर्द्धनमा बुधबारदेखि पुनर्वास नगरपालिका–३, रामबस्तीस्थित क्लबको घरेलु मैदानमा प्रतियोगिता सुरु भएको हो।

निर्वाचन क्षेत्र नं. १ स्तरीय पुरुष तथा खुला भेट्रान्स फुटबल प्रतियोगितामा पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी क्षेत्रका गरी कुल २३ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटनसँगै पहिलो चरणका खेलसमेत सुरु भएका छन्।

**उद्घाटन खेलमा न्यु कालिकाको शानदार जित**

प्रतियोगिताको उद्घाटन खेलमा न्यु कालिका युवा क्लब, आईबीआरडीले विजयी सुरुवात गरेको छ। सिद्धार्थ युवा क्लब, बुद्धबस्तीलाई ३–० गोल अन्तरले पराजित गर्दै न्यु कालिकाले प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो।

उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोलको सहज जित निकालेको न्यु कालिकाले उपाधि यात्राको सुरुवात उत्साहजनक रूपमा गरेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार बिहान १० बजे हुने पहिलो चरणको दोस्रो खेलमा अरनिको युवा क्लब, अरनिको बस्ती र न्यु पृथ्वी युवा क्लब, पृथ्वी बस्तीबीच प्रतिस्पर्धा हुनेछ।

**खेलकुदले युवा प्रतिभा पहिचान र सामाजिक सद्भाव बढाउँछ : तामाङ**

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रतिनिधिसभाका निवर्तमान सदस्य तारा लामा तामाङले खेलकुदले युवालाई अनुशासित, स्वस्थ, सिर्जनशील र जिम्मेवार नागरिक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

स्थानीयस्तरमा यस्ता प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले खेलकुदका माध्यमबाट ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभाको पहिचान र विकास गर्न सकिने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट युवाहरूको प्रतिभा पहिचान र विकास गर्न सकिन्छ। यसले खेलकुद क्षेत्रको विकाससँगै समाजमा एकता र आपसी सद्भाव अभिवृद्धि गर्नसमेत ठूलो योगदान पुर्‍याउँछ।”

उहाँले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै यस्ता प्रतियोगिताले युवालाई सकारात्मक गतिविधिमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

**स्थानीय प्रतिभा उजागर गर्न प्रतियोगितालाई निरन्तरता : क्लब अध्यक्ष तामाङ**

कार्यक्रमका सभाध्यक्ष तथा राम युवा क्लबका अध्यक्ष जिनबहादुर तामाङले खेलकुदको समग्र विकासका लागि खेलाडीमा अनुशासन, लगनशीलता र खेलभावना अपरिहार्य रहेको बताउनुभयो।

स्थानीयस्तरमा रहेका प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई कुलत तथा नकारात्मक गतिविधिबाट जोगाएर सिर्जनात्मक र सकारात्मक कार्यमा जोड्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।

ज्येष्ठ नागरिकको सम्मानलाई खेलकुद गतिविधिसँग जोडेर आयोजना गरिएको प्रतियोगिताले नयाँ पुस्तामा ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नसमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

क्लबका सचिव लालमान तामाङले सञ्चालन गर्नुभएको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, वडा नं. २ का वडाध्यक्ष डम्बर थापा, सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका महासचिव काशीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष दाउत तामाङलगायत जनप्रतिनिधि, खेलकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

**पुरुषतर्फ विजेतालाई १ लाख ७५ हजार पुरस्कार**

आगामी मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष फुटबल र खुला भेट्रान्स फुटबल गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकले दुवै विधाका विजेता तथा उपविजेता टोलीका लागि आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरेको छ।

पुरुष फुटबलतर्फ विजेता टोलीले नगद १ लाख ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ८७ हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यस विधामा प्रत्येक टोलीबाट १८ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, खुला भेट्रान्स फुटबलतर्फ विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेता टोलीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

भेट्रान्स विधामा सहभागी हुनका लागि खेलाडीले २०८३ कात्तिक २० गतेसम्म ४० वर्ष उमेर पूरा गरेको हुनुपर्ने आयोजकले स्पष्ट पारेको छ।

**दक्षिणी कञ्चनपुरको फुटबल विकासमा योगदान पुग्ने अपेक्षा**

स्थानीयस्तरमा फुटबल खेलप्रति आकर्षण बढाउनु, नयाँ खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु, अनुभवी खेलाडीको सहभागितालाई प्रोत्साहन गर्नु र खेलकुदमार्फत सामाजिक एकता कायम गर्नु प्रतियोगिताका प्रमुख उद्देश्य रहेका छन्।

विशेषगरी पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी क्षेत्रका फुटबल टोलीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा जोड्ने यस प्रतियोगिताले स्थानीय खेलाडीबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै क्षेत्रीयस्तरमा फुटबलको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार