किशोर तामाङ
कञ्चनपुर २८ असोज २०८३ सुदूरपश्चिमको गौरव, कञ्चनपुरको सान र पुनर्वासको फुटबल पहिचानका रूपमा स्थापित रनिङ चाँदी कप खुला पुरुष फुटबल प्रतियोगिताको १६औँ संस्करण कञ्चनपुरको पुनर्वास नगरपालिका–७, बुद्धबस्ती चगाउँमा सञ्चालन भइरहेको छ। सिद्धार्थ युवा क्लबको आयोजनामा असोज २४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेलहरू जारी छन्।

विजयादशमी तथा दीपावलीको अवसर पारेर फुटबलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल भावनासहित सञ्चालन भइरहेको प्रतियोगितालाई ‘लागूऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासँग समेत जोडिएको आयोजकले जनाएको छ।

हरेक वर्ष आयोजना हुँदै आएको चाँदी कपले स्थानीय तथा राष्ट्रियस्तरका फुटबल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पुनर्वास क्षेत्रको खेलकुद पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

पहिलो चरणका खेल अन्तिम चरणमा
प्रतियोगिताको पहिलो चरणअन्तर्गत अरनिको युवा क्लब, भानु युवा क्लब, सीताबस्ती युवा क्लब, राम युवा क्लब, महाकाली एडभेन्चर बैशाखी, सुदूरपश्चिम प्रहरी, सुदूरपश्चिम सशस्त्र प्रहरी, एम्बेस्डर एनपीएल अत्तरिया र परोपकार समाज युवा क्लबलगायतका टोलीले पहिलो चरण प्रिक्वार्टरफाइनल पार गर्दै दोस्रो चरणको खेलहरूमा प्रतिस्पर्धा गर्ने छन् ।

सिद्धार्थ युवा क्लबका उपाध्यक्ष बुद्धिबहादुर तामाङका अनुसार असोज ३१ गते बिहान ९ बजे सुदूरपश्चिम सशस्त्र प्रहरी र एम्बेस्डर नेपाल अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी दिउँसो १ बजे अरनिको युवा क्लब साम्ची र सङ्घर्ष स्पोर्ट्स अत्तरियाबीच खेल हुनेछ।

यी दुई खेलसँगै प्रतियोगिताको पहिलो चरणका खेलहरू सम्पन्न हुनेछन्। त्यसपछि सोही दिन साँझ ४ बजे दोस्रो चरणअन्तर्गत महाकाली एडभेन्चर र सीताबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेका छन्। स्थानीयस्तरमा फुटबलको विकास र प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमीको समेत ध्यान आकर्षित गरेको छ।
विजेतालाई तीन लाख रुपैयाँ र ६४ तोलाको चाँदीको कप
प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख रुपैयाँसहित ६४ तोलाको चाँदीको कप, प्रमाणपत्र र पदक प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टोलीलाई नगद एक लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्रदान गरिने सिद्धार्थ युवा क्लबका सचिव शुकबहादुर तामाङले जानकारी दिए।

आकर्षक पुरस्कार राशिसहित आयोजना गरिएको प्रतियोगिताले खेलाडीलाई प्रतिस्पर्धात्मक खेलमार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। साथै, प्रतियोगिताले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सिद्धार्थ युवा क्लबले विजयादशमीको अवसरमा आयोजना गर्दै आएको चाँदी कपलाई यस क्षेत्रको खेलकुद पहिचानका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएको छ। फुटबलको विकाससँगै स्थानीय पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यसमेत प्रतियोगिताले लिएको आयोजकको भनाइ छ।

प्रतियोगिताको उद्घाटन कञ्चनपुर इसाई समाज, पुनर्वास शाखाका अध्यक्ष रेभरेन्ड पास्टर हर्क सिंह तामाङको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रममार्फत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले खेलका क्रममा उत्पन्न हुने सामान्य विवादलाई तत्काल समाधान गर्दै प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए।

खेलमा जित हासिल गर्नु मात्रै मुख्य उद्देश्य नभई खेलाडीले अनुशासन र खेलभावनासहित उत्कृष्ट प्रतिभा प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा सहभागी अन्य अतिथिहरूले पनि स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यसहित खेलकुद गतिविधिलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए।

गोल नेपाल डट कम द्वारा प्रत्यक्ष प्रसारण गरिएको १६औ रनिङ चाँदी कप मा क्लवका सचिव शुकबहादुर तामाङको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सञ्चालन उपाध्यक्ष बुद्धिबहादुर तामाङले गरेका थिए। कार्यक्रममा सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो।

प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक ११ गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ। सोही दिन आयोजना हुने १० किलोमिटर म्याराथनले प्रतियोगिताको आकर्षण थप बढाउने विश्वास गरिएको छ।


