
बझाङ । बिरामी कुकुरलाई पुलबाट जिउँदै सेती नदीमा फालेको आरोपमा बझाङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई बिरामी कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार रोकायाले कुकुर बिरामी भएर आफूलाई टोक्न थालेपछि नदीमा फालेको बताएकी छन्

कुकुरको घाँटीमा लागेको चोट पाकेर दुर्गन्ध आउनुका साथै बाटोमा आवतजावत गर्ने मानिसहरूलाई टोक्ने गरेको अवस्थामा स्थानीयवासीमा त्रास उत्पन्न भएको थियो। उक्त कुकुरलाई सेती नदीमा फालेको घटनामा पक्राउ परेकी महिलाले प्रहरीसमक्ष बयान दिएकी छन्।
प्रहरीसमक्ष दिएको बयानअनुसार, कुकुरको घाँटीमा लागेको चोट पाकेर गम्भीर अवस्था देखिएको, त्यसबाट दुर्गन्ध आउने गरेको तथा बाटोमा हिँड्ने मानिसहरूलाई समेत टोक्ने गरेपछि स्थानीयको सुरक्षालाई ध्यानमा राखी उक्त कदम चालिएको उनले बताएकी छन् ।यद्यपि बिरामी तथा असहाय जनावरलाई उपचार गराउने वा सुरक्षित रूपमा व्यवस्थापन गर्ने विकल्प हुँदाहुँदै नदीमा फालिएको घटनाले स्थानीयस्तरमा चिन्ता र दुःख उत्पन्न गरेको छ।
घटनापछि प्रहरीले रोकायालाई नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ
बोल्न नसक्ने र आफ्नो पीडा व्यक्त गर्न नसक्ने भए पनि जनावरको जीवनको पनि उत्तिकै महत्त्व हुन्छ। बिरामी वा असहाय अवस्थामा रहेका जनावरप्रति मानवीय व्यवहार र उचित संरक्षण आवश्यक रहेको यस घटनाले स्मरण गराएको छ।


