सुदूरपश्चिममा सडक सुरक्षा अभियान तीव्र,दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरण गर्न दैनिक संयुक्त चेकजाँचमा कडाइ

प्रकाशित:

किशोर तामाङ
धनगढी — सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न दैनिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। सडकमा हुने दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै सुरक्षा निकायले विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानी बढाएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले सडक दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि संयुक्त चेकजाँचलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।

एसपी कार्कीका अनुसार सडकमा हुने जोखिमपूर्ण गतिविधि नियन्त्रणसँगै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गराउने उद्देश्यले नियमित चेकजाँचलाई प्राथमिकतामा राखिएको छ। मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) गरी सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अन्य जोखिमपूर्ण तरिकाले सवारी सञ्चालन गर्ने चालक र सवारीसाधनमाथि निगरानी बढाइएको उनले बताए।

“सडकमा हुने दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरण गर्न सुरक्षा निकायले चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लैजानेछ। सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्छ। मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउनु हुँदैन। सुरक्षित यात्रा सबैको साझा जिम्मेवारी हो,” एसपी कार्कीले भने।

संयुक्त चेकजाँचका क्रममा नियमविपरीत सवारी सञ्चालन गर्ने तथा आफू र अन्य सडक प्रयोगकर्ताको जीवन जोखिममा पार्ने गतिविधिमा संलग्न चालक तथा सवारीसाधनमाथि कानुनबमोजिम कारबाहीसमेत हुँदै आएको प्रहरीले जनाएको छ।

सडक सुरक्षा अभियानअन्तर्गत सवारी चालकको गतिविधि, सवारीसाधनको अवस्था तथा ट्राफिक नियमको पालना भए–नभएको विषयमा समेत निगरानी गरिँदै आएको छ। नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्नुका साथै सडक अनुशासन कायम गर्न सचेतनामूलक गतिविधिलाई समेत जोड दिइएको प्रहरीले जनाएको छ।

यसैगरी, लागूऔषधको दुर्व्यसन तथा ओसारपसार नियन्त्रणलाई समेत संयुक्त चेकजाँचको महत्वपूर्ण पाटोका रूपमा अघि बढाइएको छ। चेकजाँचका क्रममा सवारीसाधन तथा शंकास्पद व्यक्तिमाथि कानुनबमोजिम जाँच तथा निगरानीलाई निरन्तरता दिइएको छ।

प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षा निकायको निगरानी र कारबाहीसँगै चालक तथा अन्य सडक प्रयोगकर्ताको जिम्मेवार व्यवहार पनि उत्तिकै आवश्यक छ। मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी नचलाउने, ट्राफिक नियम पालना गर्ने, निर्धारित गति कायम गर्ने तथा सडकमा अनुशासित व्यवहार गर्ने विषयमा प्रहरीले विशेष आग्रह गरेको छ।

एसपी कार्कीले सुरक्षित सडक निर्माणका लागि चालक, यात्रु, पैदलयात्री तथा सबै सडक प्रयोगकर्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

ट्राफिक नियमको पूर्ण पालना गरौँ, सुरक्षित यात्रा गरौँ र आफू तथा अरूको अमूल्य जीवन जोगाऔँ।

ताजा समाचार

सम्बन्धित समाचार