
कैलारी । कैलालीको कैलारी गाउँपालिका–४, ‘के गाउँ’मा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत महिला र पुरुषतर्फका पहिलो सेमिफाइनल खेलमा क्रमशः न्यू कालिका युवा क्लब, पुनर्वास र ईलाईट युवा क्लब, वनकट्टाले शानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका छन्।

सोमबार सम्पन्न महिला सेमिफाइनलमा न्यू कालिका युवा क्लब, पुनर्वास, कञ्चनपुरले वनदेवी समन्वय युवा क्लब, कैलारी, कैलालीलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

न्यू कालिकाको जितमा विविशा बिष्टले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन्। उनले खेलको १७औँ र २४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याइन्। कप्तान मंगला बयडीले २७औँ मिनेटमा थप एक गोल गर्दै न्यू कालिकाको अग्रता ३–० मा पुर्याइन्।

वनदेवीकी पूजा चौधरीले खेलको ७०औँ मिनेटको अतिरिक्त समयमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकिनन्। दुई गोल गरेकी न्यू कालिकाका विविशा बिष्ट खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।
न्यु युवा सुन्दर शक्ति क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी छन्। पुरुष विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार, महिलातर्फ विजेताले रु. ४० हजार र उपविजेताले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता भदौ २० देखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली रहेको छ। कैलारी गाउँपालिका मुख्य प्रवर्द्धक तथा कैलारी गाउँपालिका–४ वडा कार्यालय सह–प्रवर्द्धक रहेका छन्। प्रतियोगिताको नारा “खेलकुद नै विकासको आधार हो” रहेको छ।


