महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले मन्त्रीको टुंगो लगाउन नसकेपछि १२ जना आकांक्षीको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ।

मन्त्री चयनका लागि नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। तर, मन्त्री बन्न चाहने प्रदेश सभा सदस्यको संख्या धेरै भएपछि कार्यदलले नाम टुंगो लगाउन सकेन।
बिहीबार बसेको कार्यदलको बैठकले आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको इन्चार्ज जोशीले जानकारी दिए।

उनका अनुसार मन्त्रीका लागि आकांक्षीको संख्या धेरै भएकाले कार्यदलबाटै निर्णय गर्न नसकिएको हो। केन्द्रबाट नाम टुंगो लागेपछि प्रदेश सरकार विस्तार गरिने उनले बताए।

स्रोतका अनुसार कार्यदलले साविक एकीकृत समाजवादीका २, नागरिक उन्मुक्ति पार्टीका ३ र तत्कालीन माओवादी केन्द्रका ७ गरी १२ जनाको नाम केन्द्रमा पठाएको छ।
सिफारिसमा साविक एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाही छन्। नागरिक उन्मुक्ति पार्टीबाट खुसीराम चौधरी, कैलाश चौधरी र इन्दिरा गिरीको नाम पठाइएको छ।
त्यस्तै, तत्कालीन माओवादी केन्द्रबाट मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट, झपट साउद, शिवसिंह ओली, जानकी पौडेल र लक्ष्मी विकको नाम केन्द्रमा सिफारिस गरिएको स्रोतले जनाएको छ।
एमालेको समर्थनमा २९ साउनमा खगराज भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएकै दिन उनले एमालेका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। त्यसपछि बुधबार उनले प्रदेशसभाबाट विश्वासको मतसमेत लिएका थिए।
तर, नेकपाभित्र मन्त्रीको टुंगो लगाउन नसक्दा सरकार विस्तारमा केही ढिलाइ भएको छ। केन्द्रबाट तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंगो लागेपछि मुख्यमन्त्री भट्टले प्रदेश सरकार विस्तार गर्ने तयारी गरेका छन्।


