घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित:

कञ्चनपुर। घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन बीबीएस तृतीय वर्षकी छात्रा पूजा साउदले गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण बोहराले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेदकोट नगरपालिकाका नगरप्रमुख श्री भोजराज बोहरा रहनुभएको थियो। क्याम्पसका संस्थापक अध्यक्ष श्री हरि बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका उदयदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री गजेन्द्र के.सी., घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री सागर शर्मा, भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री रणबहादुर दौल्याल तथा बालजागृति विद्यालयका प्रधानाध्यापक श्री प्रेमबहादुर चन्दलाई सम्मान गरिएको थियो।

साथै, विशिष्ट अतिथि श्री हरि बोहरा तथा प्रमुख अतिथि एवं नगरप्रमुख श्री भोजराज बोहरालाई क्याम्पसको तर्फबाट अभिनन्दन गरिएको थियो।

क्याम्पस प्रमुखले स्वागत मन्तव्य व्यक्त गर्दै घटाल बहुमुखी क्याम्पसलाई प्रविधिमैत्री तथा डिजिटल शिक्षाको नमुना क्याम्पसका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी गराउँदै चालु शैक्षिक सत्रदेखि सामादैजी र सुडा दुवै केन्द्रबाट नियमित पठनपाठन सञ्चालन गरिने बताउनुभयो।

औपचारिक शिक्षासँगै कम्प्युटर, डिजिटल सीप, एप्लिकेसन तथा वेबसाइट विकासलगायतका व्यावसायिक सीपमूलक कार्यक्रममार्फत विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी जनशक्ति बनाउने योजना रहेको उहाँले उल्लेख गर्नुभयो।

साथै क्याम्पसको समग्र विकासका लागि आफू आगामी दश वर्षसम्म प्रत्येक दिन कम्तीमा १२ घण्टा समय समर्पित गरेर काम गर्न तयार रहेको बताउँदै यस अभियानलाई सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, स्थानीय तह तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै बैजनाथ माध्यमिक विद्यालय, जडेपानीका प्रधानाध्यापकले बेदकोट नगरपालिकालाई उच्च शिक्षाको केन्द्र (Higher Education Hub) का रूपमा विकास गर्न सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

यसैगरी बालजागृति विद्यालयका प्रधानाध्यापक श्री प्रेमबहादुर चन्दले आफू निजी क्षेत्रमा लगानी गरिरहेको भए पनि सामुदायिक विद्यालय तथा सामुदायिक क्याम्पसहरूको विकासका लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि श्री हरि बोहराले क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासका लागि आवश्यक पर्ने हरेक सहयोगमा आफू सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि तथा नगरप्रमुख श्री भोजराज बोहराले घटाल बहुमुखी क्याम्पसले छोटो अवधिमै हासिल गरेको प्रगतिको प्रशंसा गर्दै नगरपालिकाबाट आगामी दिनमा पनि आवश्यक सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै सभापति श्री नारायण बोहराले घटाल बहुमुखी क्याम्पसलाई जिल्लाकै उत्कृष्ट सामुदायिक उच्च शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्याम्पसको दिगो विकासका लागि सबै पक्षको साझा प्रयास, एकता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार