७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी

प्रकाशित:

महेन्द्रनगर ।कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का स्थानीय बासिन्दाले वडा कार्यालयमा तत्काल वडा सचिवको व्यवस्था गर्न तथा ब्रह्मदेव बजार–टुँडिखेल खल्ला–मुषेट्टी सडक खण्ड सञ्चालनमा ल्याउन माग गर्दै सम्बन्धित निकायलाई सात दिने अल्टिमेटम दिएका छन्।

स्थानीय अगुवाहरूले सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै भीमदत्त नगरपालिकाका १९ वडामध्ये भौगोलिक रूपमा सबैभन्दा ठूलो वडा लामो समयदेखि सचिवविहीन हुँदा सामान्य प्रशासनिक सेवासमेत प्रभावित भएको बताएका छन्। वडा सचिव नहुँदा सेवाग्राहीले साना–साना कामका लागि समेत पटक–पटक धाउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

त्यसैगरी, ब्रह्मदेव बजारदेखि टुँडिखेल खल्ला हुँदै मुषेट्टी जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक आवतजावत ठप्पजस्तै भएको र जोखिम मोलेर महाकाली नदी तरेर यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्। यसले स्थानीय जनजीवन थप कठिन बनेको उनीहरूको गुनासो छ।

पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको भन्दै स्थानीयले अब सात दिनभित्र बिनासर्त माग पूरा गर्न आग्रह गरेका छन्। तोकिएको समयसीमाभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।

घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत वडा कार्यालयमा प्लेकार्डसहित प्रदर्शन, क्षेत्र नं। ३ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको फोटोसहित सडक प्रदर्शन तथा अन्तिम चरणमा वडा कार्यालयमा तालाबन्दी गर्ने योजना रहेको स्थानीयले जनाएका छन्।

स्थानीय अगुवा राकेश राम टमाटा, रमेश नाथ, देवेन्द्र नाथ, राकेश चन्द र दिपेन्द्र सिंह ऐरीलगायतको हस्ताक्षर रहेको उक्त संयुक्त वक्तव्यमा माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार