किशोर तामाङ
कञ्चनपुर ३० जेठ २०८३ , पुनर्वास नगरपालिकामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु गरिएको छ। नगरपालिकाको समन्वयमा मर्सी कोर नेपाल, द कोका–कोला फाउन्डेसन, सेवक नेपाल कैलाली, एनएनएसडब्लुए तथा एमरेड परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा एक सातासम्म सञ्चालन हुने तालिमको शुभारम्भ गरिएको हो।

पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम रोकायाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथि तथा नगर उपप्रमुख भुलियाकुमारी राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, मर्सी कोर नेपालका प्रतिनिधि लक्ष्मी अवस्थी, प्रशिक्षकद्वय खगेन्द्र जोशी, रतन टमाटा, सरस्वती भाट , चन्द्र साउद ,सुशिल चौधरी सञ्चारकर्मी तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटल एण्ड रेस्टुरेन्टको सभाहलमा सञ्चालन भएको उक्त तालिम सात दिनसम्म चल्नेछ। तालिममा विपद् जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उद्धार तथा स्वयंसेवक परिचालनलगायत विषयमा प्रशिक्षण प्रदान गरिनेछ। उक्त तालिममा पुनर्वास नगरपालिका वार्ड नं २ ,५ र ७ का जम्मा २४ जना प्रशिक्षार्थीहरू सहभागी रहेका छन्।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख भुलियाकुमारी रानाले पुनर्वास नगरपालिकामा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सञ्चालन हुनु समयसापेक्ष र आवश्यक रहेको बताउनुभयो। उहाँले विपद्को उच्च जोखिम रहेका वडाहरूबाट युवाहरूको उल्लेखनीय सहभागिता हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, मर्सी कोर नेपालका प्रतिनिधि लक्ष्मी अवस्थीले समुदायसँग सहकार्य गर्दै स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। एमरेड परियोजनाअन्तर्गत सेवक नेपालसँगको सहकार्यमा सञ्चालन गरिएको यस तालिमले स्थानीय स्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास नगरपालिकाले विगतदेखि बाढीजन्य विपद्को जोखिम सामना गर्दै आएको स्मरण गर्दै यस्ता तालिमले स्थानीय युवालाई दक्ष स्वयंसेवकका रूपमा तयार पार्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले तालिममार्फत विपद् सचेतना अभिवृद्धि हुनुका साथै उच्च जोखिममा रहेका समुदायलाई सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।।
नगर प्रमुख शर्माले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रममा युवाहरूको स्वस्फूर्त सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा युवाशक्तिको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो ।
पुनर्वास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा तालिम उद्घाटन समारोहका सभापति पदम रोकायले बाढी तथा डुबानजस्ता विपद् व्यवस्थापन र न्यूनीकरणका लागि नगरपालिकाले निर्वाह गरेको समन्वयकारी भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
साथै, उहाँले बाढी तथा डुबान प्रभावित क्षेत्रका नागरिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट वडावासीहरू उत्साहित र खुसी भएको उल्लेख गर्दै अध्यक्ष रोकायले यस्ता कार्यक्रमले विपद् सामना गर्ने ज्ञान, सीप र आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा समुदायको उत्थानका लागि नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सात दिनसम्म सञ्चालन हुने उक्त तालिमको समापन आगामी असार ४ गते हुने जनाइएको छ। कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाका विपद् फोकल पर्सन ओमनाथ ढकालले गर्नुभएको थियो।


