महेन्द्रनगर । सुदूरपश्चिमको मौलिकपनलाई आधुनिक संगीतमा ढाल्दै आएको ‘रातोतातो स्टेसन’ले नयाँ गीत ‘सैँया वन्डरफुल’ सार्वजनिक गरेको छ। डोटेली भाषा र शैलीलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउने लक्ष्यसहित ल्याइएको यो गीतले फेरि एकपटक स्थानीय सांगीतिक पहिचानलाई उजागर गरेको छ।

गीतमा रोएट साउदको शब्द, संगीत र स्वर रहेको छ भने पिंकी बोहराले उनलाई स्वरमा साथ दिएकी छन्। आधुनिक बिटसँग मेल खाने गरी धिराज बलायरले संगीत संयोजन गरेका हुन् भने मिक्सिङ–मास्टरिङ आशंक केसीले गरेका छन्।

भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। निर्देशन विक्रम क्षेत्रीले गरेका हुन् भने दिपेश सिंह भाट् र सुनील सिंहको क्यामेराले दृश्यलाई जीवन्त बनाएको छ।

७ वर्षदेखि निरन्तर मौलिक सिर्जनामा सक्रिय ‘रातोतातो स्टेसन’ले यस गीतमार्फत डोटेली भाषा, कला र संस्कृतिलाई अझ फराकिलो दर्शकमाझ पुर्याउने विश्वास लिएको छ।
स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म चिनाउने प्रयासस्वरूप आएको ‘सैँया वन्डरफुल’लाई दर्शक–श्रोताले रुचाउने अपेक्षा गरिएको छ।


