कञ्चनपुर, १३ फागुन** — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ‘आँखा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रत्यक्षतर्फका उम्मेदवार देपेन्द्र बहादुर शाहीसहित ५४ जना नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। बुधबार आयोजित कार्यक्रममा उनीहरूले नेकपाको ‘तारा’ चुनाव चिन्हलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
प्रलोपा कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमर सिंह विष्टसहित क्षेत्रीय तहका नेताहरू पनि नेकपामा प्रवेश गरेका छन्। केही दिनअघि मात्रै बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले निर्वाचन नजिकिँदै जाँदा वाम शक्तिहरूबीच एकता आवश्यक ठानेर नेकपामा समायोजन भएको बताए।

प्रलोपा त्यागेका उम्मेदवार शाहीले “मत विभाजन गरेर खेर फाल्नु उपयुक्त नहुने” उल्लेख गर्दै आफ्ना समर्थकलाई नेकपाको तारा चिन्हमा मतदान गर्न आह्वान गरे। जिल्ला प्रमुख विष्टले वर्तमान राजनीतिक परिवेशमा देशहित र वाम एकताका लागि नेकपाको विकल्प नभएको दाबी गरे।

“राजनीतिक एकताले विकासमा सकारात्मक सन्देश जान्छ”
कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ की नेकपा उम्मेदवार बीना मगरले नवप्रवेशी नेता–कार्यकर्तालाई स्वागत गर्दै राजनीतिक एकताले क्षेत्रको विकास र समृद्धिमा सकारात्मक सन्देश जाने बताइन्। साझा लक्ष्यका साथ अघि बढ्दै निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले सबैलाई तारा चिन्हमा मतदान गर्न आग्रह गरिन्।

त्यसैगरी, मितेरी पार्टी नेपालका निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कमरेड सियाराम राना पनि नेकपामा समाहित भएका छन्। उनले बीना मगर यस क्षेत्रको समग्र विकासका लागि योग्य उम्मेदवार भएको उल्लेख गर्दै नेकपालाई जिताउने प्रतिबद्धता जनाए।
नेकपा केन्द्रीय सदस्य जीवनराज थापाले निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न तहका नेताहरू नेकपामा समाहित हुनु सकारात्मक संकेत भएको बताए। कार्यक्रममा नेकपा नेताहरू देवीलाल चौधरी, भक्तबहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जीवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेकबहादुर विक र बिरमान थापालगायतले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए।
समाहित भएका नेता–कार्यकर्ताले उम्मेदवार बीना मगरलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा खटिने प्रतिबद्धता जनाएका छन्। कञ्चनपुर–१ मा वाम एकताको सन्देशसँगै नेकपाको चुनावी अभियान थप सशक्त हुने विश्वास व्यक्त गरिएको छ।


