कञ्चनपुर–१ मा काँग्रेसबाट गोपी उपाध्याय: : सामाजिक सेवाबाट लोकप्रियता कमाएका उपाध्यय युवा पुस्तालाई सम्बोधन गर्दै चुनावी दौडमा

प्रकाशित:

कञ्चनपुर ।नेपाली काँग्रेसका युवा नेता गोपी प्रसाद उपाध्याय विदेशमा समस्यामा परेका नेपालीहरूको सहारा बन्दै आएका व्यक्तित्वका रूपमा परिचित छन्। पीडितको पक्षमा निरन्तर सक्रिय रहँदै आएका उपाध्यायले गरेका सामाजिक कार्यकै आधारमा नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि टिकट प्राप्त गरेका हुन्।

गगन थापा नेतृत्वको काँग्रेसले क्षमतावान, कर्मठ र भरोसायोग्य युवा नेताका रूपमा उपाध्यायलाई विश्वासका साथ उम्मेदवार बनाएको हो। टिकट पाएसँगै उनी चुनावी मैदानमा सक्रिय हुँदै घरदैलो कार्यक्रममा व्यस्त छन्।

पार्टीले दिएको जिम्मेवारीअनुसार ४६ वर्षीय उपाध्याय रुख चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका छन्। विगतमा उनले गरेका सामाजिक तथा मानवीय कार्यहरूको क्षेत्रवासीले खुलेर प्रशंसा गरिरहेका छन्। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने कार्यदेखि लिएर क्षेत्रभरका अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरणसम्मका गतिविधिले उनलाई जनस्तरमा लोकप्रिय बनाएको छ।

निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका उपाध्यायलाई पार्टीले उम्मेदवार बनाएपछि काँग्रेसभित्रका एकथरी नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन्। अन्य दलका समर्थकहरूले समेत उपाध्यायलाई मत दिने अपेक्षा गरिएको उनको निकट स्रोतले जनाएको छ।

युवा पुस्ता (जेन–जी) का माग र अपेक्षा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘जनताको नोकर भएर काम गर्ने’ उनको अभिव्यक्तिले धेरै मतदाताको मन जित्न सफल भएको आँकलन गरिएको छ। यद्यपि, काँग्रेस पुरानो पार्टी भए पनि उपाध्याय नयाँ अनुहार भएकाले उनले कति मत ल्याउने भन्ने विषयमा मतदाताबीच चासो र चर्चा भने कायमै रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार