महेन्द्रनगर । भाइको अन्त्येष्टिमा सहभागी हुन महाकाली नदी किनार पुगेका बेला बगेर बेपत्ता भएका भीमदत्त–३ का गगन दमाईको शव फेला परेको छ। ‘सन्नी’ नामले परिचित ३४ वर्षीय गगनको शव दोधारा–चाँदनी नगरपालिका–४ स्थित झोलुङ्गे पुलको ४ नम्बर पिल्लर नजिक आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, गत मंसिर १८ गते भुजेला घाटमा भाइ अभिषेक दमाईको अन्त्येष्टि (मलामी)मा पुगेका गगन नुहाउने क्रममा नदीमा बगेका थिए।

फेला परेको शवको सनाखत मृतकका काका सुरेश दमाईले गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




