महेन्द्रनगर । कञ्चनपुरमा तिहार नजिकिँदै गर्दा कञ्चनपुर प्रहरीले झण्डै २९ लाख रुपैयाँ मूल्य बराबरका अवैध पटका (विस्फोटक पदार्थ) बरामद गरेको छ। सो क्रममा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल पक्राउ परेका छन्।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पालको घरमा छापा मारेको थियो। छापामारका क्रममा २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिनु भएको छ ।

उनका अनुसार बरामद गरिएका ती पटका तिहारलाई लक्षित गरी बजारमा बिक्री वितरण गर्ने तयारीमा राखिएका थिए।“विस्फोटक पदार्थ ठूलो मात्रामा फेला परेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।”डीएसपी बोहराले जानकारी दिनु भयो।

यसबीच प्रहरीले तिहार नजिकिँदै गर्दा अवैध पटका, आतसबाजी सामग्री र विस्फोटक पदार्थको रोकथामका लागि विशेष निगरानी अभियान सञ्चालन गरेको समेत जनाएको छ।
प्रहरीले सीमाक्षेत्र र बजार क्षेत्रमा निगरानी कडा बनाएको छ र यस्ता जोखिमपूर्ण वस्तु बिक्री गर्ने वा भण्डारण गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।