बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार आएको छ। गत वर्ष जिल्लाभरि १८ ओटा विद्यालयको नतिजा शून्य आएकामा यो वर्ष भने नतिजामा सुधार आएको छ।

विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडीमा ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। यस वर्ष बैतडीबाट एसइईमा सहभागी भएका विद्यार्थीमध्ये ५२ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसैबीच एसइईमा सहभागी भएका १२८ सामुदायिक र पाँच वटा संस्थागत विद्यालयमध्ये चार वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए।

पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी र शिवपूर्ण माविको नतिना शून्य आएको छ। यस्तै दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि नगतडीको नतिजा शून्य आएको छ। सरस्वती संस्कृत माविको नतिजा गत वर्षसमेत शून्य आएको थियो।
गत चैतमा सञ्चालन भएको एसइईमा चार हजार ३०७ जना परीक्षार्थीमध्ये चार हजार २१८ जना सहभागी भएका थिए। परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए। परीक्षामा सहभागी भएकामध्ये दुई हजार २०६ जना उत्तीर्ण भएका छन् भने दुई हजार १२ जना ननग्रेड अर्थात् अनुत्तीर्ण भएका छन्।